४३ वर्षीय पुरुषको हत्या अभियोगमा नाबालक पक्राउ


eShilalekh

१५ मंसिर २०७९, बिहीबार १७:४३

कलैयाः बारा कोल्हबीका ४३ वर्षीय पुरुषको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक नाबालकलाई पक्राउ गरेको छ । कोल्हबी नगरपालिका ११ रामपूर्वाका परीक्षण चौधरीको हत्या अभियोगमा प्रहरीले नाबालकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा रहेका नाबालकले चौधरीको हत्या आफूले गरेको स्विकार गरेका छन् । चौधरीको शव फेला परेको केही घण्टामै पक्राउ परेका नाबालकले कारणसहित हत्या स्विकार गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बोगटीले नाबालकलाई अप्राकृतिक मैथुनका लागि चौधरीले जबरजस्ती गरेको र सोही कारण नाबालकले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए । बोगटीका अनुसार मंसिर १३ गते राती चौधरीको हत्या भएको र १४ गते बिहान ९ बजे खाल्डोमा गाडेको अवस्थामा शव फेला परेको हो ।

प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार घटनाको दिन चौधरी र नाबालक गाँउकै मेला गएका थिए । मेलामा दुवैले मदिरा सेवन गरे । मेलाबाट फर्कने क्रममा चौधरीले नाबालकलाई अप्राकृतिक मैथुनका लागि प्रस्ताव गरे । नाबालकले अस्विकार गरेपनि चौधरीले जबरजस्ती गरिरहे ।

आफूमाथी जबरजस्ती हुन थालेपछि नाबालकले चौधरीको अनुहारमा मुक्का प्रहार गरे । त्यसलगत्तै चौधरी भुईमा बजारिए । सोही बेला नाबालकले नजिकै रहेको दाउराले चौधरीको टाउकोमा पटकपटक प्रहार गर्न थाले । आवेगमा आएका नाबालकको प्रहारबाट चौधरी मुर्छित बने र घटनास्थल रक्ताम्य बन्न पुग्यो ।

त्यसलगत्तै नाबालक आफ्नो घरमा गएर कोदालो लिएर आए । उनले स्थानीय सियाराम चौधरीको गोठ नजिकै खाल्डो खनेर चौधरीको शव गाडिदिए । शव गाडेर नाबालक घरमा गएर सुतेका थिए ।

स्थानीयले शव देखेपछि कोल्हबीस्थित इलाका प्रहरी कार्यालयमा सूचना दिए । प्रहरी तत्कालै घटनास्थल आईपुगे । हत्यारा पत्ता लगाउन प्रहरीले कुकुर समेत प्रयोग गर्यो । तर कुकुरले पत्ता लगाउन सकेन ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गर्यो । अनुसन्धानका क्रममा चौधरी घटनाको अघिल्लो रात नाबालकसंग रहेको खुल्न आयो । त्यसलगत्तै प्रहरीले नाबालकलाई घरबाट नियन्त्रणमा लिएर बयान लिन थाल्यो । बयानका क्रममा नाबालकले घटना स्विकार गरे ।

आफूमाथी अप्राकृतिक मैथुनका लागि भएको जबरजस्तीको विषय चौधरीले गाँउभरी हल्ला गर्ने र आफ्नो बदनाम हुने डरले हत्या गरेको बयान नाबालकले दिएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

पक्राउ परेका नाबालकलाई प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी नियन्त्रणमा राखेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्