रसायनिक मलको विवादले सिम्रौनगढमा दुई पक्षबीच दिनभर झडप


eShilalekh

२० मंसिर २०७९, मंगलवार १७:३८

सिमराः रसायनिक मलको विषयमा उत्पन्न विवाद चर्कदै गएपछि बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ४ को कार्यालय रहेको क्षेत्र दिनभर तनावग्रस्त बनेको छ ।

मल वितरणको विषयलाई लिएर वडा कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने क्रममा दुई पक्षबीच झडप हुँदा स्थिती तनावग्रस्त बनेको हो । झडपका क्रममा दुवै पक्षका केही घाईते भएका छन् । घाईतेको नाम प्रहरीले जानकारी खुलाएको छैन् ।

किसानलाई वितरण गर्ने मलको विषयलाई लिएर वडाध्यक्ष अवधेस सहनी र निवर्तमान वडाध्यक्ष राजेश यादव पक्षका स्थानीयबीच झडप भएको हो । स्थानीयबीचको झडप नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

वडा नं. ४ को कार्यालयले मंसिर १५ गतेदेखी १८ गतेभित्रमा नागरिकता उपलब्ध गराउन सूचना जारी गरेको थियो । सोही सूचना अनुरुप १८ गते अपरान्ह नागरिकता उलपब्ध गराउन केही स्थानीय वडा कार्यालय पुगेका थिए । तर कार्यालय समयभित्रै स्थानीयहरु वडा कार्यालय पुग्दा सो दिन कार्यालय बन्द गरिएको थियो ।

तोकिएको समयमै कार्यालय पुगेपनि वडा कार्यालय बन्द देखेपछि किसानले आक्रोशित हुँदै मुल गेटमा तालाबन्दी गरेका थिए । किसानले आक्रोशित हुँदै लगाएको तालाबन्दी खोल्न हालका वडाध्यक्ष पक्षका स्थानीयले मंगलवार वडा कार्यालय पुगेपछि स्थिती तनावग्रस्त बन्न पुगेको हो । ताला खोल्ने र बन्द गर्ने पक्षबीच दिनभर झडप भएको थियो ।

दुवै पक्षका स्थानीय हातमा बास र भाटा लिएर उत्रिएका थिए । बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले दिनभर तनावग्रस्त बनेको क्षेत्र साँझ साम्य भएको इशिलालेखलाई बताए । उनले दुवै पक्ष अहिले तितरवितर भएको जानकारी दिए । साँझ परेसंगै दुवै पक्षबीच पुनः झडप हुन नदिन उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रहरी नायब उपरीक्षक थापाले तालाबन्दी खुलाउने विषयमा बुधवार छलफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्