मतगणनामा खटिएका केही कर्मचारीले अझै पाएनन् सेवासुविधा, पाउने पनि असन्तुष्ट


eShilalekh

२१ मंसिर २०७९, बुधबार २०:१०

सिमराः मतगणना सम्पन्न भएको लामो समय वितिसक्दा पनि बारा क्षेत्र नं. ४ को मतगणनामा खटिएका केही कर्मचारीले अझै सेवासुविधा पाउन सकेका छैनन् । गणना सम्पन्न भईसक्दा पनि सेवासुविधा नपाएपछि कर्मचारी असन्तुष्ट देखिएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा खटिएका कर्मचारीले प्रोत्साहन बापत पाउने सेवासुविधा नपाएपछि उनिहरु असन्तुष्ट देखिएका हुन् । निर्वाचन आयोगले मतगणनामा खटिने कर्मचारीलाई प्रोत्साहनवापत रकम उपलब्ध गराउने गरेको छ ।

तर सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सम्पन्न गणनामा खटिएका जीतपुरसिमरा उपमहानगरपालिका, ईलाका प्रशासन कार्यालय, नेपाल विद्युत प्राधिकरणलगायत विभिन्न कार्यालयका थुप्रै कर्मचारीले हालसम्म सेवासुविधा पाएका छैनन् । सेवासुविधा पाएका मध्येपनि तोकिएबमोजिम नपाएको भन्दै कर्मचारीले गुनासो गर्न थालेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारीको लापरवाहीका कारण आफूहरुले सेवासुविधा नपाएको र सेवासुविधाका लागि ताकेता गर्दा निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले गैरजिम्मेवारपूर्ण जवाफ दिन थालेको कर्मचारीको दुखेसो छ । निर्वाचन आयोगले तोकेबमोजिम सेवासुविधा दिनुपर्ने भएपनि अधिकृतको कार्यालयका कर्मचारी मतगणना सम्पन्न भईसकेको भन्दै पन्छिन खोजेको जीतपुरसिमरा उपमहानगरपालिकामा कार्यरत अधिकृत सुदन चौधरीले बताए ।

‘गणनालाई छिटो र विवादरहित ढंगले सम्पन्न गर्न हामीले २४ घण्टा खटिएर काम गर्यौ । सबै मिलेर विवादरहित ढंगबाट जिल्लामै मतगणना छिटो सम्पन्न गर्ने क्षेत्र पनि बन्यौ’ चौधरीले भने ‘तर अहिले सेवासुविधा दिने कुरामा निर्वाचन अधिकृतको कार्यालयले आनाकानी गरिरहेको छ । एकले अर्काको मुख देखाउन थालेको अवस्था छ । ’

मतगणनामा खटिएका कर्मचारीलाई सेवासुविधा उलपब्ध गराउन निर्वाचन अधिकृतको कार्यालयले चासो देखाउन छोडेको चौधरीको भनाई छ । चौधरीजस्तै गणनामा खटिएका अधिकृत र अधिकृत सहायक स्तरका थुप्रै कर्मचारी सेवासुविधाबाट बञ्चित भएका छन् । सेवासुविधा पाएका कर्मचारीलाई समेत कुन आधारमा रकम उपलब्ध गराइएको भन्ने नखुलाइएको अर्का अधिकृत संघर्ष बिडारीले बताए ।

‘केही कर्मचारीलाई बैंक खातामार्फत रकम आएको छ । तर खटिएवापत प्राप्त गर्नुपर्ने रकम भन्दा निकै थोरै पठाइएको छ’ बिडारीले भने ‘गणनाको समयमा अहोरात्र खटिएर काम गर्ने कर्मचारीमाथी निर्वाचन अधिकृतको कार्यालयले अन्याय गरेको छ । आर्थिक पारदर्शितामा अधिकृतको कार्यालय चुकेको देखिन्छ । ’ बिडारीले तोकिएबमोजिम रकम उलपब्ध गराउन निर्वाचन अधिकृतको कार्यालयसंग माग गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाकै अधिकृत दुर्गा न्यौपानेले मतगणनमा खटिएवापत अहिलेसम्म सेवासुविधा प्राप्त गरेकी छैनन् । बुथ कलेक्सन र मतगणनामा खटिएकी न्यौपाने सेवासुविधा नपाएका कारण असन्तुष्ट देखिन्छिन् ।

‘कर्मचारी खटाएपछि को कर्मचारी कति खटिए भन्ने लेखाजोखा राख्ने, हाजिरी गराउनुपर्ने हुन्छ’ न्यौपानेले भनिन् ‘तर यहाँ त कर्मचारी खटिएको तथ्यांक पनि छैन् । हाजिरी पनि गराइएको छैन् । अहिले सेवासुविधा दिने बेलामा निर्वाचन अधिकृतको कार्यालय सम्पर्कमा आउन चाहदैन् ।’

आफूहरु दैनिक १२ घण्टासम्म र मतगणना अवधीभरी ४० सिफ्टसम्म खटिएपनि रकम उपलब्ध गराउने समयमा थोरै रकम पठाएको कर्मचारीहरुको गुनासो छ । निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारीको लापरवाहीका कारण आफूहरु पीडित हुनुपरेको उनिहरुको भनाई छ ।

यता निर्वाचन अधिकृत कर्ण राईले भने मतगणनाको समयमा एक सय भन्दा बढी कर्मचारी खटिएका कारण सेवासुविधा कम हुन गएको बताएका छन् । धेरै कर्मचारी खटाएका कारण सोही सेवासुविधाबाट उपलब्ध गराउनुपर्ने भएका कारण कम हुन गएको राईले बताए ।

‘गणनाका लागि आयोगले करिब एक सय सिफ्ट तोकेको थियो । त्यही सिफ्ट अनुसार हामीले कर्मचारी व्यवस्थापन गरेर गणना गरेका हौं’ राईले भने ‘सुविधा सोचेको जस्तो हुदैन । तर हालसम्म पनि नपाएको भन्ने गुनासोतर्फ हामी गम्भीर छौ ।’

राईले हालसम्म सेवासुविधा नपाएका कर्मचारीले तत्काल निर्वाचन अधिकृतको कार्यालयमा खटिएका लेखापालसंग सम्पर्क राख्न आग्रह गरेका छन् । ‘केही कर्मचारीले मलाई पनि फोन गर्नुभएको थियो । मैले लेखापाललाई सम्पर्क राख्नुस् भनेको छु’ राईले भने ‘निर्वाचनमा खटिएर सेवासुविधा नपाउनुभएको कर्मचारी हुनुहुन्छ भने हामी सकेसम्म समेटेर लैजानेछौं ।’

निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ताको दिन खटेका कर्मचारीलाई सेवासुविधा र निर्वाचन सम्पन्न भएपछि मतपेटिएका लिएर गणनास्थल आएका सवारी साधनलाई भुक्तान गर्नुपर्ने रकम समेत नदिएको गुनासो आएको छ ।

प्रतिक्रिया दिनुहोस्