मृत जरायो र हतियारसहित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पाँच शिकारी पक्राउ


eShilalekh

५ पुष २०७९, मंगलवार १२:५१

सिमराः वन्यजन्तुको शिकार गरिरहेको अवस्थामा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट सोमबार राती पाँच जना शिकारी पक्राउ परेका छन् । निकुञ्जको जमुनिया नाकाबाट मृत जरायो र हतियारसहित उनिहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी १ का बिशाल सहनी, झापस दास थारु, नवराज बस्नेत, काभ्रेपलान्चोकका दामोदर अधिकारी र ठेगाना नखुलेका मालदोङ तामाङ रहेका छन् । निकुञ्ज सुरक्षार्थ खटिएको गस्ती टोलीले बन्दुक पड्किएको आवाज सुनेपछि उनिहरुलाई घेरा हालेर नियन्त्रणमा लिएको हो ।

गस्ती टोलीले उनिहरुको साथबाट एउटा मृत पोथी जरायो, भाले जरायोको सिङसहितको टाउको, १२ बोरको बन्दुक, त्यसमा लाग्ने गोली, दुई लाख ९० हजार नगद, नाईटभिजन, बाईनाकुलर, टेलिस्कोप बरामद गरेको छ । बन्दुक पड्किएको आवाज सुनेपछि पछ्याउदै जाने क्रममा शिकारीको टोली भेट भएको र नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी सुर्य खड्काले जानकारी दिएका छन् ।

गस्ती टोलीले उनिहरुले प्रयोग गरेको बा५च ७८०५ र प्रदेश २–०३–००१ च ३०९७ नम्बरको दुई वटा गाडी समेत नियन्त्रणमा लिएको छ । सूचना अधिकारी खड्काका अनुसार दुई वटा गाडीमा निकुञ्जको ‘कोर एरिया’ भित्र पसेर शिकार गरिरहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका पाँच जनालाई निकुञ्जको नियन्त्रणमा राखेर अनुसन्धान थालिएको सूचना अधिकारी खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्