भारतीय नागरिक हत्या प्रकरणः भारतमा योजना, नेपालमा हत्या


eShilalekh

११ पुष २०७९, सोमबार २१:१८

सिमराः बाराको महागढीमाईमा शुक्रवार भारतीय नागरिकको गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारत मोतिहारीका ४५ वर्षीय शिवपुजन राय यादवको हत्यामा संलग्न भारत घोडासनका ३८ वर्षीय प्रमोद राम पक्राउ परेका हुन् । रामलाई घटनाकै दिन पक्राउ गरेको प्रहरीले अनुसन्धानबाट उनको संलग्नता रहेको पुष्टि भएपछि सोमबार सार्वजनिक गरेको हो ।

यादवको हत्या प्रकरणमा रामले सहयोगीको भूमिका खेलेको प्रमाण प्रहरीले प्राप्त गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा रामलाई सार्वजनिक गर्दै प्रहरी उपरीक्षक बोगटीले हत्याको बदला लिने मनसायसहित यादवको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए ।

‘यादवले भारतमा एक जनाको हत्या गरेको र हत्या गरिएको परिवारका सदस्यको योजनामा फेरी उनको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ’ प्रहरी उपरीक्षक बोगटीले भने ‘घटनाको कारण रीसिबी साध्नका लागि भएको देखिएपनि हामी थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरी उपरीक्षक बोगटीका अनुसार गोली प्रहारबाट मारिएका यादव र पक्राउ परेका राम दुबै भारतीय प्रहरीको ‘मस्ट वाण्टेड’ सूचिमा रहेका अभियुक्त हुन् । दुबैविरुद्ध कर्तब्य ज्यान, अपहरण, हातहतियारसहित विभिन्न मुद्धा भारतिय प्रहरीमा दर्ता रहेको छ ।

विभिन्न अपराधमा संलग्न यादवले गत चैतमा परिवारभित्रकै सदस्य रहेका ग्राम पञ्चायतका उपप्रमुख रमेश यादवको गोली प्रहार गरी हत्या गरेका थिए । जग्गा विवादमा परिवारभित्रकै सदस्यको हत्या गरी फरार रहेका यादवलाई भारतीय प्रहरीले खोजीको सूचिमा राखेको थियो । यादव नेपालमा लुकेर बस्दै आएका थिए । पछिल्लो समय उनि दुई दिन अघि मात्रै महागढीमाईस्थित आफन्तको घरमा आएका हुन् । आफन्तको घरमा आएका यादवको भारतमै बनेको योजनाअनुसार हत्या भएको प्रहरी उपरीक्षक बोगटीको भनाई छ ।

यादवलाई महागढीमाई नगरपालिका २ स्थित भुतही पुल नजिकको खाजा पसलमा भारतीय नम्बरको मोटरसाईकलमा आएका सुटरले गोली प्रहार गरी हत्या गरेका हुन् । यादवलाई छातीमा एक राउण्ड गोली प्रहार गरेर भारतीय सुटर मोटरसाईकलमा फरार भएका थिए । यादवमाथी गोली प्रहार गर्ने सुटर अझै फरार छन् । सुटर फरार भएपनि यादवमाथी गोली प्रहार गर्नका लागि वातावरण बनाउने भूमिकामा रहेका राम पक्राउ परेका हुन् । रामलाई प्रहरीले परवानीपुर गाँउपालिका ५ स्थित एलएस न्युरो अस्पतालबाट नियन्त्रणमा लिएको हो । गोली प्रहारबाट गम्भिर घाईते भएका यादवको उपचार भईरहेको अस्पतालमा राम पनि पुगेका थिए । यादवको उपचारका क्रममा मृत्यु भएको थियो ।

अस्पतालमा शंकास्पद अवस्थामा देखेपछि प्रहरीले रामलाई नियन्त्रणमा लिएको थियो । रामलाई नियन्त्रणमा लिएपछि घटनाबारे अनुसन्धान गर्न प्रहरीलाई सहज भयो । अस्पतालमा भेटिएका रामको ‘कल लग’ खाली देखेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो । रामलाई नियन्त्रणमा लिएलगत्तै प्रहरीले उनको कल डिटेल जाँच गरेको थियो । कल डिटेलमा रामले घटनाको केही समयअघि यादवले प्रयोग गरेको नम्बरमा फोन गरेको देखियो ।

रामले यादवलाई फोन गरेर चिया पिउनका लागि बोलाएका थिए । राम र यादवबीच राम्रो मित्रता थियो । रामले फोन गरेर बोलाएपछि यादव घर नजिकै रहेको पसलमा चिया पिउन निस्किएका थिए । होटलमा चिया पिउदै गरेको अवस्थामा उनिमाथी गोली हानिएको हो । ‘यादव र राम दुबै अपराधिक पृष्ठभूमिका हुन् । त्यसैले दुबैबीच राम्रो सम्बन्ध थियो’ प्रहरी उपरीक्षक बोगटीले इशिलालेखलाई भने ‘त्यही सम्बन्धको फाईदा उठाउदै यादवको हत्यामा रामलाई परिचालन गरेको देखियो ।’

प्रहरी उपरीक्षक बोगटीका अनुसार हत्याको मुख्य योजनाकार भने गत चैतमा यादवबाट मारिएका ग्राम पञ्चायतका उपप्रमुखका भाइ दिनेश हुन् । दाइको हत्या भएको रीसिबी साध्न दिनेशले यादवको हत्या योजना बुनेका हुन् । उक्त कामका लागि रामले ६० हजार भारतीय रुपैया लिएका थिए ।

प्रहरीका अनुसार यादवलाई चिया पिउन घरबाहिर बोलाएलगत्तै रामले सुटरलाई फोन गरेर बोलाएका थिए । सुटरले मोटरसाइकल तयारी अवस्थामा राखेर यादवलाई गोली प्रहार गरी भारततर्फ फरार भएको प्रहरी उपरीक्षक बोगटीले बताए । सुटरले यादवमाथी गोली प्रहार गर्दा राम पनि घटनास्थलमै थिए ।

भारतमा अपराध गरी नेपालमा लुकेर बस्दै आएका राम र यादवबीच ८६ पटक फोन सम्पर्क भएको कल डिटेलमा देखिएको छ । दुबैले एनसेलको नम्बर प्रयोग गर्दै आएका थिए । यादवको हत्या गर्ने योजना डेढ महिना अघि बनेको थियो । हत्याको योजनापछि रामले यादवसंग पटकपटक भेटेका थिए ।

घटनाबारे जानकारी दिदै प्रहरी उपरीक्षक बोगटीले हत्याका योजना र सुटरको खोजी भईरहेको बताए । घटनामा अन्य सबै फरार रहेकाले पक्राउका लागि भारतीय प्रहरीसंग समन्वय भईरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्