साना किसान कृषी सहकारीद्धारा छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण


eShilalekh

१३ पुष २०७९, बुधबार १९:३४

सिमराः मनहर्वास्थित साना किसान कृषी सहकारी संस्था लिमिटेडले २०औं स्थापना दिवसको अवसर पारेर छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले आफ्नो कार्यक्षेत्र भित्र रहेका तीन आधारभूत विद्यालयका एक सय ९० जना छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

जीतपुरसिमरा १८ बडहर्वास्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयका ९०, कलैया उपमहानगरपालिका १६ स्थित आधारभूत विद्यालयका ७८ र कलैया उपमहानगरपालिका २६ महेशपुरस्थित राजदेवी क्लब आधारभूत विद्यालयका १५ छात्रछात्रालाई संस्थाले शैक्षिक सामाग्री वितरण गरेको हो । संस्थाकी अध्यक्ष नयनकला खड्काले सामाग्री वितरण गरेकी हुन् ।

खड्काको अध्यक्षतामा बडहर्वास्थित विद्यालयमा आयोजित कार्यक्रम प्रध्यानाध्यापक रामाधार ठाकुरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा रामरुकमिणी परोपकारी निजी गुठी काठमाण्डौंका गगनबहादुर आले, स्थानिय समाजसेवी गोपिकृष्ण खतिवडा, साना किसान कृषि सहकारी संस्थाकी उपाध्यक्ष फुलकुमारी बस्नेत, संचालक आशा राना मगर, शर्मिलाकुमारी दाहाल, चम्पा चौधरी, सवनम चौधरी र विद्यालयका शिक्षकको उपस्थिती रहेको थियो ।

२०६० सालमा स्थापना भएको सहकारीले जीतपुरसिमरा र कलैया उपमहानगरपालिकाको विभिन्न वडामा ६ वटा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ । दुई हजार नौ सय २३ महिला र ४२ पुरुष सदस्य रहेको संस्थाले वार्षिक ६० करोडको कारोवार गर्दै आएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सदस्यहरुलाई १६ प्रतिशत सेयर लाभांश वितरण गरेको थियो ।

कार्यक्रममै काठमाण्डौस्थित रामरुकमिणी परोपकारी निजी गुठीले विपन्न छात्रछात्रालाई स्विटर वितरण गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय ६० जना छात्रछात्रालाई स्विटर वितरण गरेको हो । गुठीका स्थानिय प्रतिनिधी गगनबहादुर आले मगरले छात्रछात्रालाई स्विटर वितरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्