वन्यजन्तु शिकार प्रकरण: दुई प्रदेशसभा सदस्यसहित थप तीन जनामाथी अनुसन्धान सुरु


eShilalekh

१७ पुष २०७९, आईतवार ०९:२१

सिमरा: निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको शिकार गरेको घटनामा पर्सा राष्ट्रिय निकुञ्जले दुई प्रदेश सभा सदस्य र गाउँपालिकाका एक पूर्वअध्यक्षलाई  अनुसन्धानका लागी बोलाएको छ ।

हातहतियार र मृत जरायोसहित पुस ४ गते  पाँच जना पक्राउ परेको घटनामा निकुञ्जले मधेस प्रदेशसभा सदस्य प्रमोद जयसवाल, बागमती प्रदेशसभा सदस्य श्यामबहादुर खड्का र पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललाई पत्र काटेर बोलाएको हो ।

खड्का काठमाडौं क्षेत्र नं. ५(२) बागमती प्रदेशसभा र जयसवाल पर्सा ३(१) बाट मधेश प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् । काठमाडौं-१ घर भएका खड्का नेपाली कांग्रेस र जयसवाल स्वतन्त्र उम्मेदवार बन्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेशसभा सदस्य प्रमोद र गाँउपालिकाका पूर्वअध्यक्ष प्रदीप दाजुभाइ हुन् ।

वन्यजन्तु शिकारको घटनामा पक्राउ परेकाको बयान र उनिहरुको साथबाट पक्राउ परेको हतियार, सवारीसाधनमा प्रदेशसभा सदस्य र पूर्व गाँउपालिका अध्यक्ष संलग्न हुनसक्ने प्रमाण अनुसन्धानमा खटिएका निकुञ्जका कर्मचारीले फेला पारेका छन् ।

नेपाली सेना र निकुञ्जका कर्मचारीले मृत पोथी जरायो, भाले जरायोको सिङसहितको टाउको, दुईवटा गाडी एक थान बन्दुक, बाइनाकुलर,  नाइटभिजन, टेलिस्कोप, दुई लाख ९० हजार नगदसहित पर्सा सखुवाप्रसौनी १ का बिशाल सहनी, झापस दास थारु, नवराज बस्नेत, काभ्रेपलान्चोकका दामोदर अधिकारी र मालदोङ तामाङलाई पक्राउ गरेको थियो । पक्राउ परेकाको बयानका आधारमा सेना र कर्मचारीले जयसवालको फार्म हाउसबाट शिकारमा प्रयोग हुने सामाग्री बरामद गरेको हो ।

अनुसन्धानका क्रममा वन्यजन्तुको शिकार गर्न प्रयोग भएको बन्दुक प्रदेशसभा सदस्य खड्काको नाममा दर्ता रहेको देखिएको छ । खड्काले पर्सा सखुवाप्रसौनी गाउँपालिका १ स्थित अकुवनियामा माछा पोखरी संचालन गरेका छन् ।

शिकारका क्रममा प्रयोग भएको प्र २-०३-००१ च ३०९७ नम्बरको गाडी जयसवाल इन्टरप्राइजेजको नाममा दर्ता रहेको छ । उक्त इन्टरप्राइजेज सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष जयसवालको नाममा छ रहेको खुलेको छ ।

निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले पक्राउ परेका शिकारीको बयान, उनिहरुसंग बरामद भएको हतियार र गाडीबाट अन्य तीन ब्यक्तिको नाम खुलेपछी अनुसन्धानका लागि बोलाएको जानकारी दिए ।

राष्ट्रिय निकुञ्ज तथा संरक्षण ऐन २०२९ (पाँचौ संशोधन) अनुसार वन्यजन्तु चोरी निकासी कसुरमा अनुसन्धान गरिरहेको निकुञ्जले संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्