यौन दुर्व्यवहारको आरोपपछि फरार रहेका निजगढका वडाध्यक्षले गरे आत्मसमर्पण


eShilalekh

१८ पुष २०७९, सोमबार १०:२४

सिमराः नाबालिग किशोरीमाथी यौन दुर्व्यवहार गरेको आरोपपछि फरार रहेका निजगढ नगरपालिका २ का वडाध्यक्ष राजु श्रेष्ठले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । श्रेष्ठले आइतवार राती निजगढस्थित ईलाका प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका हुन् ।

किशोरीको परिवारले असोज २५ गते निजगढस्थित इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि वडाध्यक्ष श्रेष्ठ फरार रहेका थिए । श्रेष्ठविरुद्ध १५ वर्षीया किशोरीमाथी जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी परेको छ ।

वडाध्यक्ष श्रेष्ठले असोज १९ गते दशैंको टिकाको दिन आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्दै किशोरीको परिवारले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीपछि प्रहरीले वडाध्यक्ष श्रेष्ठको खोजी गरिरहेको थियो ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले आफै सम्पर्कमा आएका वडाध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताएका छन् ।

श्रेष्ठ नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्