अमलेखगंजमा २७ महिलासहित ९३ जनाद्धारा रगत दान


eShilalekh

२३ पुष २०७९, शनिबार १५:४७

सिमराः अमलेखगंजमा शनिवार आयोजित रक्तदान कार्यक्रममा ९३ जनाले रगत दान गरेका छन् । तमु लोसार पर्वको अवसरमा तमु क्लबले आयोजना गरेको १८औं रक्तदान कार्यक्रममा २७ महिलासहित ९३ जनाले रगत दान गरेका हुन् ।

रक्तदान कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख अधिकारीले स्वास्थ्य क्षेत्रको विकासका लागि उपमहानगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता दिईरहेको बताए । उपप्रमुख अधिकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै तमु क्लबले रक्तदान कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ को आर्थिक सहयोगमा सम्पन्न कार्यक्रमको उद्घाटन समारोहमा वडाध्यक्ष सुभाष श्रेष्ठ, जीतपुरसिमरा २२ का वडाध्यक्ष शेखरकाजी रुम्बा, कार्यपालिका सदस्य सुकुमाया कुमारी, वडासदस्य जमुना गौतम, बद्रीनारायण साह, सिता बिक, इलाका प्रहरी कार्यालय अमलेखगंजका इन्चार्ज माधव पुडासैनी, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका अध्यक्ष राजकुमार साह, खानेपानी उपभोक्ता तथा सरसफाई समितिका नारायण लामिछाने, चुरियामाई मध्यवर्ती वन उपभोक्ता समितिका गोपाल घलान, मनकामना बचत तथा ऋण सहकारी संस्थाका अध्यष सुवास श्रेष्ठ, अनमोल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विनय साह, नवदुर्गा पुजा समितिका अध्यक्ष विश्वास साहलगायतको उपस्थिती रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी वीरगन्जको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । तमु लोसार पर्वको अवसरमा तमु क्लबले प्रत्येक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्