बाराको ६ वटा बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगमा सिल, विधुतको लाइन काटियो


eShilalekh

२३ पुष २०७९, शनिबार २०:०९

सिमराः जिल्ला अनुगमन उपसमितिले बाराको ६ वटा बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगमा सिल गरेको छ । अनुगमनका क्रममा मापदण्ड विपरित संचालनमा रहेका बालुवा प्रशोधन केन्द्र र क्रस उद्योगमा उपसमितिले सिल गरेको हो ।

अनधिकृतरुपमा संचालनमा रहेका क्रसर उद्योग वन्द गर्न र प्राकृतिक स्रोत साधनको दोहन नियन्त्रण गृह मन्त्रालयले निर्देशन गरेसंगै जिल्ला अनुगमन समितिको बैठकले उपसमिति गठन गरेको थियो । जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको संयोजकत्वमा गठित उपसमितिले शुक्रवारदेखी बाराका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगको अनुगमन थालेको हो ।

जिल्लाको १२ वटा उद्योग अनुगमन गर्ने क्रममा उपसमितिले कलैया उपमहानगरपालिका २४ स्थित जय मातादी बालुवा प्रशोधन केन्द्र, निजगढ ९ स्थित लालबकैया प्रशोधन केन्द्र, जीतपुरसिमरा १५ स्थित जय मातादी बालुवा प्रशोधन केन्द्र, बालगंगा बालुवा प्रशोधन केन्द्र, निजगढ ४ स्थित नेपाल क्रसर उद्योग र कोल्हबी २ स्थित गुगल कन्स्ट्रक्सनमा सिल गरेको हो ।

अनुगमनका क्रममा मापदण्ड विपरित संचालनमा रहेका, अनुमति लिइएको भन्दा फरक ढंगले संचालनमा रहेका, दर्ता तथा नविकरण पूरा नगरेका र राज्यलाई तिनुपर्ने कर नतिरेका ६ वटा प्रशोधन केन्द्र तथा क्रसर उद्योग सिल गर्नुका साथै विधुतको लाइन काटिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

‘अनुगमनका क्रममा अनाधिकृत र मापदण्ड पूरा नगरेका उद्योगलाई तत्कालै कारवाही सुरु गरेका छौ’ प्रहरी उपरीक्षक बोगटीले इशिलालेखलाई भने ‘राज्यले निर्देशित गरेको मापदण्ड पूरा गरेर आएमा त्यस्ता उद्योग संचालन हुनेछन् । अन्यथा संचालन हुन पाउने छैनन् ।’

अनुगमनका प्रक्रिया पूरा नहुँदासम्मको लागि जिल्लाका सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रबाट हुने निकासी पैठारी बन्द गरिएको समेत प्रहरी उपरीक्षक बोगटील बताए । केही दिनमै सबै उद्योगको अनुगमन पूरा हुने र त्यस समयसम्मका लागि उद्योग बन्द गरिएको बताउदै प्रहरी उपरीक्षक बोगटीले आमनागरिकलाई पर्ने असुविधाप्रति आफूहरु सचेत रहेको बताए ।

‘केही दिन सम्पूर्ण उद्योगको काम बन्द गरेका छौं । निकासी पैठारी समेत बन्द भएको छ । जसले गर्दा आमनागरिकलाई असुविधा पनि पक्कै हुनेछ’ प्रहरी उपरीक्षक बोगटीले भने ‘तर उद्योगलाई कानुनी दायराभित्र ल्याउने प्रक्रियालाई आमनागरिकले सहजरुपमा लिनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।’

जिल्लामा ५० वटा भन्दा बढी बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योग संचालनमा रहेका छन् । उक्त सबै उद्योगको अनुगमन सकिएपछि मापदण्ड भित्र रहेर संचालित उद्योग मात्रै संचालन हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्