सिमराबाट झापा फर्किए पूर्वराजपरिवार


eShilalekh

२५ पुष २०७९, सोमबार २०:३९

सिमराः पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सदस्यसहित सोमबार सिमराबाट झापा फर्किएका छन् । केही दिनको सिमरा बसाइँपछि पूर्वराजा शाह पत्नी कोमलबाहेक परिवारका अन्य सदस्य लिएर झापा फर्किएका हुन् ।

पूर्वराजा शाहसंग छोरा पारस, बुहारी हिमानी, छोरी प्रेरणा, नाति हृदयेन्द्र, नातिनी पूर्णिका र किर्तिका झापा गएका हुन् । परिवारका अन्य सदस्य झापास्थित दमक गएपनि पूर्वरानी कोमल भने सिमरामै बसेकी छिन् । पूर्वराजा शाह सिमरास्थित प्रभु निवासमा बसेका थिए ।

निजि भ्रमणका लागि मंसिर ६ गते काठमाण्डौबाट दमक पुगेका पूर्वराजा शाह त्यसयता तराईका जिल्लाको भ्रमणमा छन् । करिब एक महिनाको दमक बसाइँपछि पूर्वराजा शाहले पुस ९ गते जानकी मन्दिरको दर्शन गर्दै सन्तमहन्थ संग भेट गरेका थिए ।

जनकपुरस्थित यात्री निवासमा बसेर मन्दिर दर्शन र भेटघाट सकाएका पूर्वराजा शाह त्यसपछि सिमरा आएका थिए । सिमरामा केही दिन बसेर पूर्वराजपरिवारका सदस्य नयाँ वर्ष मनाउन चितवन पुगेका थिए ।

चितवन बसाइँपछि पूर्वराजा शाह परिवारसहित सिमरा फर्किएका थिए । केही दिनदेखी सिमरा बस्दै आएका शाह पुनः दमक फर्किएका हुन् । सिमरा बसाइँका क्रममा पूर्वराजपरिवारका सदस्यले आइतवार सुर्य नेपाल प्रा.लिको अवलोकन गर्नुका साथै वृक्षरोपण गरेका थिए ।

पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानीले सुर्य नेपाल परिसरमा वृक्षरोपण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्