सिमरा खानेपानीद्धारा छात्रवृत्तिका लागि आवेदन माग


eShilalekh

२७ पुष २०७९, बुधबार १६:१३

सिमराः खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कार्यालय सिमराले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । सिमरा कलेजमा स्नातक तथा स्नाकोत्तर तहको अध्ययन गर्न इच्छुक कर्मचारी र उपभोक्ताको परिवारसंग कार्यालयले आवदेन माग गरेको हो ।

प्रत्येक वर्ष पाँच जना विद्यार्थीलाई छात्रवृत्ति उलपब्ध गराउने गरी खानेपानीको कार्यालयले सिमरा कलेजसंग सम्झौता गरिसकेको छ । सम्झौता अनुसार आवेदन माग गरेको कार्यालयले छात्रवृत्ति उपलब्ध गराउन सिमरा कलेजलाई सिफारिस गर्नेछ ।

छात्रवृत्तिका लागि कर्मचारी र उपभोक्ताको परिवारले आवेदन दिन सक्नेछन् । कार्यालयमा परेको आवेदनमध्ये कार्यालयले कर्मचारीको परिवारका दुई र उपभोक्ताका परिवारको तीन गरी पाँच जना विद्यार्थीको नाम छात्रवृत्तिका लागि सिमरा कलेजलाई सिफारिस गर्नेछ ।

खानेपानी उपभोक्ता तथा सरसफाई समितिको पुस २ गते बसेको कार्यसमिति बैठकले छात्रवृत्तिका लागि आवेदन माग गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार कार्यालयले पुस १७ गतेदेखि लागु हुनेगरी १५ दिने सूचना जारी गरेको हो ।

खानेपानीको कार्यालयले केही दिनअघि सिमरा कलेजको अक्षय कोषमा जम्मा हुने गरी २० लाख रकम हस्तान्तरण समेत गरेको थियो । खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष कासिम हुसेनले सिमरा कलेजका अध्यक्ष अच्युत सिटौलालाई २० लाखको चेक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्