रेडक्रस सोसाइटीका कर्मचारीबाटै पूर्व लागुऔषध प्रयोगकर्तामाथी विभेदपूर्ण व्यवहार


eShilalekh

३० पुष २०७९, शनिबार २२:१२

सिमराः लागुऔषधको प्रयोग छोडेर समाजमा पुर्नस्थापित हुन उपचार लिएका युवालाई नेपाल रेडक्रस सोसाइटी पर्साका प्राविधिक अधिकृत सौरभराज पाण्डेले शनिवार विभेदपूर्ण व्यवहार गरेका छन् । सिमरामा शनिवार आयोजित रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटीमार्फत प्राविधिक सहयोग गर्न आएका पाण्डेले रगत दान गर्न गएका पूर्व लागुऔषध प्रयोगकर्तामाथी विभेदपूर्ण व्यवहार गरेका हुन् ।

स्थानीय स्तरमा आयोजना भएको कार्यक्रममार्फत रगत दान गर्न नयाँ गोरेटो पुर्नस्थापना केन्द्रबाट १५ जना युवा कार्यक्रमस्थल पुगेका थिए । रगत दान गर्न जानेमा लागुऔषध प्रयोग छोडेर लामो समयदेखि केन्द्रमा स्वयंसेवकको भूमिकामा काम गरिरहेका र कम्तिमा तीन महिना अघिदेखि लागुऔषध छोडेर आचरण सुधारको उपचार लिईरहेका युवाहरु थिए । तर उनिहरु विभेदपूर्ण व्यवहारको अनुभव लिएर फर्कन बाध्य भए ।

रगद दान गर्न पुगेका उनिहरुलाई प्राविधिक अधिकृत पाण्डेले रगत संकलन नगरी फर्काए । अधिकृत पाण्डेले पुर्नस्थापना केन्द्रमा बसेका ब्यक्तिको रगत नलिने निर्णय भएको भन्दै फर्काएको पुर्नस्थापना केन्द्रका व्यवस्थापक बबिन सुब्बाले बताए ।
‘मानविय सेवा अन्तर्गत रगत दान गर्न केन्द्रका युवाहरु उत्साहित भएर पुगेका थियौ’ सुब्बाले भने ‘तर हामीहरुलाई अयोग्य रहेको प्रमाणित गर्दै फर्काउने काम भयो । यो हामीहरुमाथी मात्र नभई सबै पूर्व लागुऔषध प्रयोगकर्तामाथीको विभेद हो ।’

आफूहरु प्रयोगकर्ता नभएको र लागुऔषध प्रयोगबाट मुक्त भईसकेको बताउदा समेत अधिकृत पाण्डेले रगत लिन नमिल्ने भन्दै फर्काउनु दुःखद् पक्ष रहेको बताए । लागुऔषध प्रयोग छाडेर समाजमा पुर्नस्थापित हुन खोजिरहेका युवालाई हौसला दिनुपर्ने भएपनि अयोग्य सावित गरिएको सुब्बाको भनाई थियो ।

‘लागुऔषध प्रयोगबाट मुक्त भईसक्दा पनि हामी समाजका लागि अयोग्य हुन्छौ ? समाजमा पुर्नस्थापित भएर सामाजिक योगदानका लागि हामीले भूमिका खेल्न सक्दैनौ?’ सुब्बाले प्रतिप्रश्न गर्दै भने ‘यसरी सार्वजनिक कार्यक्रममै अयोग्य सावित गरिदा लागुऔषध प्रयोगबाट मुक्त हुदै गरेका युवा मानसिकरुपमा हतोत्साहित हुन्छन् । यो गलत हो ।’

ब्लड डोनर्स एशोशिएसन पर्साका सचिव अरबिन्द सिंहले लागुऔषध प्रयोगकर्ता भएकै कारण विभेद र अपमानजन्य व्यवहार गर्न नमिल्ने बताए । लागुऔषध प्रयोग छोडेर नयाँ जिवनतर्फ अघि बढ्दै गरेका युवाको रगत लिन नमिल्ने भनेर कहि कतै नलेखिएको सिंहको भनाई छ । उनले रेडक्रस सोसाइटीका अधिकृतबाट गरिएको उक्त व्यवहारले आफू समेत अचम्मित भएको बताए ।

‘रगत दान गर्न आँउदा शारीरिकरुपमा अशक्त देखिए र स्वास्थ्यमा अन्य समस्या भए जो कसैलाई पनि कारणसहित फर्काउनुपर्ने हुन्छ´ सिंहले भने ‘तर लागुऔषध प्रयोग छोडेर पुर्नस्थापित हुन खोजिरहेका युवालाई रगत लिन नमिल्ने भन्दै फर्काएको घटनाले मलाई अचम्म लागेको छ । यो विभेदजन्य व्यवहार हो, यस्तो गर्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्