पचरौतामा विपन्न परिवारलाई सिरक वितरण, मन्त्री साहलाई सम्मान


eShilalekh

१० माघ २०७९, मंगलवार १९:२३

सिमराः पचरौता नगरपालिकाको कार्यालयले मंगलवार नगरक्षेत्र भित्रका आठ सय ८८ जना विपन्न व्यक्तिलाई सिरक वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा चिसोबाट प्रभावित परिवारलाई सिरक वितरण गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि कृषी तथा पशुपंक्षी विकास मन्त्री ज्वाला साह, मधेस प्रदेशसभा सदस्य महम्मद समीर, एमाले केन्द्रीय सदस्य बलबीर चौधरी, नगर प्रमुख जलान्धर सिंहलगायतले सिरक वितरण गरेका थिए । चिसोका कारण विपन्न परिवारको जनजिवन प्रभावित हुन थालेपछि नगरपालिकाले केही समयअघि देखि सिरक वितरण गर्ने योजना बनाएको थियो ।

कार्यक्रममा नगरको सबै वडाबाट प्रतिनिधिमुलक रुपमा १०/१० जनालाई सिरक वितरण गरिएको र अन्यलाई वडाबाटै वितरण गर्ने तयारी नगरपालिकाको कार्यालयले गरेको छ । विपन्न परिवारको सूचि तयार गरेर सिरक वितरण गरिएको नगर प्रमुख सिंहले बताएका छन् ।

कार्यक्रममा नगरपालिकाले कृषी मन्त्री साहलाई सम्मान गरेको थियो । बारा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी मन्त्री साहलाई नगरपालिकाले सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै मन्त्री साहले कृषी र पशुपंक्षी क्षेत्रको विकासका लागि आफूले योजनाबद्ध ढंगले अघि बढेको बताईन् । मन्त्री साहले कृषी क्षेत्रको उत्पादन, बजारीकरण, अनुदानसंगै कृषी क्षेत्रमा किसानले गरेको लगानीको सुनिश्चितताका हुने गरी आफूले काम गरिरहेको बताईन् ।

कार्यक्रममा नगरपालिकाले बाराबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई बिदाई गरेको थियो । नगर प्रमुख सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख नसिमा खातुन, सिम्रौनगढ नगरपालिकाकी नगर उपप्रमुख नजमु शेहर, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्री, एमाले बाराका उपसचिव सृजन बजगाई, पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्र, वडा नं. ५ का वडाध्यक्ष लक्ष्मी यादव, वडा नं. ३ का अध्यक्ष भेनुक राउत कुर्मी, वडा नं. ९ का अध्यक्ष गगनदेव यादव, प्रशासन प्रमुख गौरी साह, शिक्षा शाखा सहसंयोजक मुकेश सिंह, एमालेका नगर इन्चार्ज सुरेश यादव, नगर अध्यक्ष जयनारायण कुर्मीलगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी र नगरबासीको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख नवल यादवले गरेका थिए भने शुभकामना मन्तब्य प्रभुनाथ पटेलले राखेका थिए । कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता रहेको राष्ट्रिय दलित पत्रकार संघ बाराका अध्यक्ष निखिल पासवानले इशिलालेखलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्