टांगियाका बासिन्दालाई जग्गाको निस्सा वितरण


eShilalekh

१४ माघ २०७९, शनिबार २०:२१

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ टांगियाबस्तीका बासिन्दालाई शनिवारदेखि निस्सा वितरण गर्न थालिएको छ । वडा कार्यालयले लगत संकलन गरी स्थानीयलाई निस्सा वितरण गर्न थालेको हो ।

कृषी तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले शनिवार निस्सा वितरणको थालनी गरेकी हुन् । वडा कार्यालयद्धारा आयोजित कार्यक्रममा पुगेर मन्त्री साहले तीन सय जनालाई निस्सा वितरण गरिन् ।

वडा कार्यालयले एक हजार छ सय घरधुरीको लगत संकलन गरेको छ । लगत संकलन गरिएको सबै घरधुरीलाई निस्सा वितरण गरिने वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिए । निस्सा वितरणपछि जग्गाधनी पूर्जाका लागि प्रक्रिया अघि बढ्ने वडाध्यक्ष खरेलले बताए ।

निस्सा वितरण कार्यक्रममा प्रदेशसभा सदस्य रविन्द्र दास श्रेष्ठ, स्थानीय टांगिया सरोकार समितिका रमेशकुमार सापकोटा, नमराज सञ्जेललगायत जनप्रतिनिधि र स्थानीयको उपस्थिती रहेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारी योजनाका कारण लामो समयदेखि टांगियाका बासिन्दा अन्यौलको अवस्थामा थिए । विमानस्थल निर्माण गर्न प्रस्ताव गरिएकै कारण टांगियामा विकास पुग्न सकेको थिएन् । विमानस्थल निर्माण हुँदा बस्ती स्थानान्तरण गर्नुपर्ने र राज्यको लगानी खेर जाने भन्दै सरकारी स्तरबाट टांगियाबासी पीडित हुँदै आएका थिए ।

योजना प्रस्ताव गरेको दशकौं वितिसक्दा पनि टांगियाको विषयमा स्पष्ट नीति आउन नसकेपछि टांगियाबासी पटकपटक आन्दोलित समेत हुँदै आएका छन् । पछिल्लो समय विमानस्थल निर्माण भए बस्तीलाई अन्यत्र स्थानान्तरण गर्ने तर जनतालाई अधिकारबाट बञ्चित गर्न नहुने निष्कर्षमा सरकार पुगेको छ ।

बर्षौदेखि अन्धकार रहेको टांगियामा केही समयअघि बिजुली लगिएको छ । नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रमार्फत टांगियामा विद्युतिकरण गरिएको हो । विद्युतिकरण भएको केही समयपछि जग्गाको निस्सा पाएपछि स्थानीय खुसी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्