जीतपुरसिमराको वडा नं. २१ ले थाल्यो वडा कार्यालयबाटै योजना सम्झौता र कार्यान्वयन


eShilalekh

१९ माघ २०७९, बिहीबार २०:०८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ को कार्यालयले बिहिवारदेखि वडा कार्यलयबाटै वडास्तरीय योजनाको सम्झौता र कार्यान्यवन गर्ने प्रक्रिया सुरु गरेको छ । उपमहानगरपालिकाको नगर कार्यपालिकाको निर्णय बमोजिम वडा कार्यालयले पुँजीगततर्फको योजना वडाबाटै सम्झौता गर्न थालेको हो ।

वडा नं. २१ का वडा सचिव जीवन कुमार क्षेत्रीले उपभोक्ता समितिसंग निर्माण कार्यसम्बन्धि योजनाको सम्झौता गरेका हुन् । योजना सम्झौतासंगै क्षेत्रीले वडा कार्यालयबाटै कार्यादेश उपभोक्ता समितिलाई दिएका थिए ।

यसअघ वडास्तरीय योजनाको सम्झौताका लागि उपमहानगरपालिकाको जीतपुरस्थित कार्यालय पुग्नुपर्ने बाध्यता थियो । नगरबासीको सहजताका लागि उपमहानगरपालिकाको कार्यपालिकाले बैठकले २० लाख भन्दा मुनिका पुँजीगततर्फको योजना वडा कार्यालयमा सम्झौता गर्ने निर्णय गरेको थियो ।

कार्यपालिकाको निर्णयबमोजिम कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले वडासचिवलाई अधिकार प्रत्यायोजन गर्दै अख्तियारी दिएका थिए ।

उपमहानगरपालिकाको २४ वटा वडामध्ये वडाबाटै योजना सम्झौता हुने निर्णय कार्यान्वयन गर्ने वडा नं. २१ पहिलो वडा कार्यालय हो । पहिलो योजना सम्झौता भएसंगै वडास्तरका योजनालाई अब सम्झौता गर्दै कार्यान्वयन गरिने वडाध्यक्ष सुभाष श्रेष्ठले बताए ।

योजना सम्झौताका क्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, प्रमुख प्रशासकीय अधिकृत पोखरेल, जीतपुरसिमरा २२ का वडाध्यक्ष शेखर काजी रुम्बा, योजना तथा बजेट महाशाखाका प्रमुख बालाराम खड्कालगायत वडाका जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्