बृद्धभत्ता लिन जाँदा एयरपोर्ट रोडको नालामा खसेपछि…


eShilalekh

२३ माघ २०७९, सोमबार २१:२५

सिमराः सिमरास्थित एयरपोर्ट रोड अत्यन्तै व्यस्त सडकमा पर्छ । बजार क्षेत्र भएका कारण सर्वसाधारणको चहलपहल र सवारी आवागमनले उक्त सडकमा दिनभर भिडभाड हुने गरेको छ ।

त्यतिमात्र नभई विमानस्थल भएर आउने र जाने यात्रुले प्रयोग गर्ने सवारीसाधन सोही सडकबाट गुड्ने हुँदा उक्त सडकमा सवारी चाप बढी नै देखिन्छ । देशविदेशका यात्रुसंगै विशिष्ट व्यक्तिको आवतजावत उक्त सडकबाटै हुने गरेको छ ।

विमानस्थल पुग्नका लागि अन्य सडकको विकल्प भएपनि पथलैया–वीरगन्ज व्यापारिक मार्गसंगको छोटो दुरी र पिच सडक भएका कारण सवारीसाधन सोही बाटो भएर गुड्ने गरेका छन् । जसका कारण उक्त सडकको सवारी व्यवस्थापनलाई थप सहज बनाउन एकतर्फी पार्किङको व्यवस्था गर्ने गरिएको छ ।

सिमराकै मुख्य बजार त्यसमा पनि विमानस्थल पुग्ने सडक व्यस्त हुनु स्वभाविक नै हो । तर उक्त सडकमा केही दिन एउटा घटना भयो जुन दुःखद् र अस्वभाविक देखियो । ठुलो क्षति नभएकै कारण घटनाले ठुलो रुप लिन पाएन । तर त्यस घटनाले स्थानीय व्यवसायीलाई दुखित बनायो ।

उक्त सडक अन्तर्गत गुप्ता मार्केट अगाडी पर्ने नालामा केही दिन अघि बृद्धभत्ता लिन आएका बृद्ध नागरिक लड्न पुगे । गरिमा विकास बैंकमा भत्ता लिन आएका उनको एउटा खुट्टा नालामा खस्न पुग्यो । ठुलो चोटपटक लागेन र स्थानीय व्यवसायीले उद्धार गरे ।

घटना हेर्दा सामान्य लाग्न सक्छ । तर त्यस क्षेत्रका व्यवसायी दैनिकरुपमा हुने यस्ता घटनाबाट दुखित देखिन्छन् । दुर्घटनाको जोखिमसंगै सिमराको सौन्दर्यसंग जोडिएको उक्त विषयमा कसैले चासो नदिएको व्यवसायीको भनाई छ ।

नालाको स्ल्याप (नाला छोप्ने) खसेको थुप्रै समय भइसकेको छ । २०६६ सालमा विमानस्थलले उक्त सडक पिच गर्दा दुवैतर्फ नाला निर्माण गरेको थियो । सोही नालाको एउटा स्ल्याप खसेको हो । मर्मतका लागी कसैले चासो नदेखाएपछि स्थानीय व्यवसायी आफैले नालाको अर्को स्ल्याप राख्ने समेत प्रयास गरे । तर उक्त स्ल्याप सानो भएका कारण पुनः खस्न पुग्यो ।

व्यवसायीले सम्बन्धित निकायको बाटो पर्खिएर बसे । मर्मतका लागि पहल समेत गरे । तर सम्बन्धित निकायले चासो नदिएको पीडा व्यवसायीको छ । ‘दैनिकजसो मान्छे लड्ने, सवारी साधनको टायर पर्ने गरेको छ । यसबाट दुर्घटना निम्तिन सक्छ भनेर हामीले मर्मतका लागि सम्बन्धित निकायसंग पहल गरिरहेका छौं’ व्यवसायी शिव पौडेलले भने ‘तर मर्मत हुन सकेको छैन् । कसले मर्मत गर्ने हो हामी अन्यौलमा छौं । ‘

स्ल्याप खसेको उक्त ठाँउबाट बगेर आएर फोहोर पस्ने गरेको र नाला जाम भएको व्यवसायी बताउछन् । उक्त नाला सरसफाइ र मर्मतका लागि व्यवसायीले स्थानीय सरकार र सम्बन्धित निकायसंग अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्