‘रेडियोमा एक दशक’


निलिसा वर्मा

१ फाल्गुन २०७९, सोमबार १९:०३

कस्ले सुन्छ र रेडियो ? रेडियोमा पैसा दिन्छ ? कार्यक्रममा फोन आउँछ र? क्रेज छ रेडियोको ? करियर छ र? सुरक्षित छ? यस्तै प्रश्नको सामना गर्दै जवाफ खोज्दै रेडियोमा दश बर्ष बित्यो । यात्रा अझ जारी छ । यो दश वर्षको अवधीमा तितोमिठो अनुभव बटुल्दै अगाडि बढे । त्यो अनुभवले नै समस्याको सामना गर्ने क्षमता र यस क्षेत्रमा लागी रहन हौसला दिएको छ ।

अहिले सुचना र मनोरञ्जनका लागी थुप्रै श्रोत छन । एकसमय थियो जब समाचार, सुचना, गितसंगीतको लागी रेडियोमात्र एक साधन थियो । चिया पसल, पान पसल, सानो तिनो होटलमा ग्राहक आकर्षित गर्नको लागी पनि रेडियो राखिन्थ्यो । बिस्तारै घरघरमा रेडियो बज्न थाल्यो । आफुलाई मनपर्ने गित सुन्नको लागी पनि चिठि लेखेर अनुरोध गर्ने र रेडियो कार्यक्रममार्फत गित सुन्न पाउनुको छुट्टै आनन्द थियो ।

हाम्रो घरमा पनि ठुलो रेडियो थियो । बिहानै बज्ने भजन हजुरबुवासंग बसेर सुन्थे र गाउथे । रेडियो भित्रबाट मान्छेले बोलेको, गित गाएको सुन्दा आश्चर्यचकित हुन्थे । यो रेडियोमा त्यति मान्छे कसरी अटाए होलान ? के गरी भित्र पसे ? कतिबेला रेडियोभित्र पस्छन र बाहिर निस्कन्छन? दिनभरी रेडियो छेउमा बसी रहदा पनि रेडियो भित्र बोल्ने मान्छेको आवतजावत नदेखेपछि ठुलै चमत्कार जस्तो लाग्थ्यो । रेडियोको बारेमा जान्ने उत्सुकता बढ्दै गयो । रेडियो भित्रका मान्छेलाई हेर्न मन थियो । के हुन्छ रेडियोमा? रेडियो के हो? कसरी बोलिन्छ रेडियोमा ? भन्ने बितिकै गित कसरी बजाईदिन्छ ? आवाजले नै मनमा छुटै छवि बनाएकाहरु हेर्दा कस्तो होलान भन्ने अनेकौ प्रश्न संगै रेडियोमा बोल्ने इच्छा पनि पलाएको थियो ।

समय बित्दै गयो । आधुनिक प्रविधिले संचारका थुप्रै श्रोत निर्माण गर्यो । संचारक्षेत्रले नयाँ मोड लियो । संचारको माध्यम फेरिदै गयो । कुनैबेला रेडियोको विकल्प थिएन । रेडियो संगसंगै टिभि, सिडि, मोबाईल जस्ता उपकरणको प्रयोग बढ्न थाल्यो । पत्रपत्रिका पनि संचारक्षेत्रमा सूचनाको साधन बन्यो । तर पनि रेडियोको क्रेज कम भएको थिएन । रेडियोमा पनि समय संगसंगै बदलाव आईसकेको थियो । रेडियोको आकार सानो हुँदै गएको थियो । टिभिको आकारमा आउने रेडियो बिस्तारै हातमा बोक्ने मोबाइलमा र लगाउने घडिमा अटाउन थाल्यो । आकारमा मात्र नभई रेडियोबाट प्रसारण हुने समाचार, कार्यक्रम, प्रचार प्रसार, नाटक र अन्य सामाग्रीमा पनि बदलाव आयो । श्रोताहरु जोडिदै गए ।

रेडियोलाई नजिकबाट जान्ने र बुझ्ने ईच्छा अधुरै थियो । रेडियोप्रति मनमा अनेकौ सवाल थियो । एउटा अदृश्य आवाजले कसरी श्रोतालाई बाँधेको छ? आवाजले नै श्रोताको मन कसरी जित्ने? रेडियोमा कसरी काम हुन्छ? रेडियो सम्म कसरी पुग्ने? भन्ने अनेकौ प्रश्न थियो । रेडियोमा कार्यक्रम सुन्दा फोन गर्ने श्रोताले प्रस्तोतासंग गरिएको कुराकानी सुन्दा रमाईलो लाग्थ्यो । मेरो आवाज पनि मन पराएर मेरो पनि फ्यान भइदियोस् जस्तो नि लाग्थ्यो । सबैभन्दा अचम्म लाग्ने कुरा के थियो भने, श्रोताले भन्न बितिकै ठ्याक्कै त्यही गित कसरी बज्छ? रेडियोमा बोल्न गित गाउन आउनै पर्ने हो कि ? र के बोल्नु छ? कहाँ र कसरी त्यो याद कसरी गर्छन् होला भन्ने लाग्थ्यो ।

यो संगै रेडियोमा काम गर्ने उत्सुकता बढ्दै थियो तर पुग्ने बाटो थाहा थिएन । स्कुल, कलेजका साथिले आवाजको तारिफ गर्दा खुशी लाग्थ्यो । तिम्रो आवाज मिठो छ, तिमी त रेडियोको लागि परफेक्ट छौ, तिमि रेडियोमा काम गर जस्ता शब्दले मलाई झन प्रोत्साहित गथ्र्यो । घरमा ऐनाको अगाडी उभिएर टर्चलाई माईक बनाएर आफुलाई हेर्दे रेडियोमा कार्यक्रम संचालकले बोलेको जस्तो नक्कल पार्थे । त्यसरी गर्दा म रेडियोमा कार्र्यक्रम चलाउन सक्छु जस्तो लाग्थ्यो । कलेज पढ्दा एंकरीङ एशोसिएसन अफ नेपालले आयोजना गरेको तीन दिने आरजे र उद्घोषक तालिममा मैले उत्कृष्ट तीनमा स्थान पाएको थिए । उर्जा थपिएको र आत्मबल बलियो हुदै गएको थियो । तर मौका पाएको थिइन ।

शिक्षण पेशाबाट यात्रा अघि बढ्यो । जीतपुरकै निजी विद्यालयमा कम्प्युटर पढाउथे । आफू स्नातक तहमा अध्ययनरत थिए । पढाई र जागिर संगसंगै अघि बढ्दै थियो । दुई वर्षपछि शिक्षण पेशा छोडेर आफु व्यवस्थापन निकायको विधार्थी भएकाले लेखा सम्बन्धि काम प्रति चासो लिन थाले । तर मनबाट रेडियोमा बोल्ने इच्छामा कमि आएन । काम र पढाईलाई निरन्तर अगाडि बढाए ।

काम गर्ने क्रममा एउटा सहकारीमा काम गर्ने मौका पाए । कार्यालय व्यवस्थापनको जिम्मेवारी पाएको थिए । उक्त कार्यालयको व्यवस्थापक अनिल तिवारी हुनुहुन्थ्यो । एकदिन उहाँले आफ्नो साथी बेद भट्टलाई लिएर कार्यालय आउनुभयो । त्यसैबेला सहकारीको विषयमा बुझ्न एकजना व्यक्ति आउनु भयो र उहाँलाई नेपाली बुझ्न अलि समस्या भएकोले मैले हिन्दीमा कुरा गर्न थाले । कक्षा तीनसम्म पटनामा (मामाघर) पढेकोले सानै देखी हिन्दी बोल्थे । भोलिपल्ट कार्यालय पुग्दा अनिल सरले तिम्रो हिन्दी राम्रो छ भन्नुभयो । मेरो साथीले तिमिले बोलेको सुनेर रेडियो कार्यक्रम राम्रो चलाउन सक्छ भनेको सुनाएको बताउनुभयो । मेरो साथी वेदजी र अरु साथी मिलेर रेडियो संचालन गर्न लागेका छौ, के तिमी रेडियोमा हिन्दी कार्यक्रम चलाउछौ भनेर प्रश्न गर्नुभयो । अनिल सर रेडियोकर्मी भएको कुरा मैले त्यो दिन थाह पाए ।

सानैदेखी देखिएको सपना अब साकार हुन्छ कि भन्ने लाग्न थाल्यो । सरको कुरा सुनेर मैले एकछिन पनि नसोचिकन काम गर्छु सर भने । सरले स्क्रिप्ट लेख्ने र कार्यक्रम चलाउने प्रयास गर्न सल्लाह दिनुभयो । त्यो दिन म एकदमै खुशी भएर घर फर्किदै थिए । एकजना जितेन्द्र सर्राफ दाई हुनुहुन्थ्यो । उहाँ रेडियो प्रेमी । रेडियो सुन्ने, कार्यक्रम सुन्ने, फोन गर्ने, आरजेसंग कुरा गर्ने, गित फर्माइस गर्ने गर्नुहुन्थ्यो । त्यो दिन म दाईको पसलमा पुगेर मैले नि रेडियोमा बोल्न मौका पाएको सुनाए । दाई धेरै खुशी हुनुभयो किनकि उहाँले धेरै पटक मेरो आवाजको तारिफ गर्नु भएको थियो । बोल्ने शैली देखी लिएर शब्द चयन सबै रेडियोको लागि उपयुक्त भन्नुहुन्थ्यो ।
ठ्याक्कै रेडियो सिमराबाट हेलो सिमरा भन्ने कार्यक्रम प्रसारण हुँदै थियो । दाईको फोन त शुरुमै लाग्ने र त्यो दिन दाईले मलाई कुरा गर्न भन्नुभयो । मैले पहिलो पटक रेडियोमा कार्यक्रम प्रस्तोतासंग कुराकानी गरेको थिए । कार्यक्रम प्रस्तोताको नाम कृष्ण सिग्देल थियो । रेडियोको कार्यक्रममा फोन गरेर कुरा गर्न पाउँदा र फर्माइसको गित सुन्न पाउँदा खुशीको सिमा थिएन ।
केही महिना पछि मेरो नि कार्यक्रम आँउछ रेडियोमा, म संग बोल्न नि रेडियोमा फोन आँउछ, श्रोताको अनुरोधमा रहेको गित बजाउछु, स्रोताले मलाई नि आरजेको रुपमा चिन्छन, मेरो आवाजले मलाई नयाँ पहिचान दिन्छ सम्झेर सेलिब्रिटि जस्तो फिलिङ आयो । त्यसपछि मैले स्क्रिप्ट लेख्ने, बोल्ने प्रयास, समाचार पढ्ने प्रयास निरन्तर गर्न थाले ।

जीतपुरमा रेडियो आकाशवाणी ९४.४ मेगाहर्ज संचालनमा आयो । अन्तर्वार्तामा मलाई उपयुक्त ठानेर आरजेको लागी छनौट गरियो र शुरु भयो मेरो आरजे यात्रा । कार्यक्रम प्रस्तोता मात्र नभई टेक्निसियन, प्रोडक्सन, समाचार, कार्यक्रम, रेडियोमा गर्नुपर्ने कामको जानकारी लिए । मेरो पहिलो हिन्दी कार्यक्रम ‘म्युजिक मस्ती’ अन एयर भयो । रुपा तिवारी म्याडम स्टुडियो भित्र संगै बसेर मलाई हौसला दिने काम गर्नुभयो । यति धेरै फोन र श्रोताको कुराकानीले मन प्रफुल्लित भयो । कुनै सेलिब्रिटि भन्दा कम आफुलाई बुझेको थिइन । आखिर बाल्यकालको सपना जो पुरा हुदै थियो । आफ्नो मिहिनेत र श्रोताको प्रतिक्रियाबाट सन्तुष्ट थिए । स्रोताले आवाज सुनेर मलाई चिन्न थालिसकेका थिए । विज्ञापनमा मेरै आवाज हाल्न विज्ञापनदाताको माग आउने र कार्यक्रम थप्ने माग श्रोताबाट आउन थालेको थियो ।

रेडियोमा बोल्ने पेशा पनि सजिलो रहेनछ भन्ने कुराको अनुभुति बिस्तारै हुन थाल्यो । रेडियो भित्रै आफ्नै सहकर्मीबाट असहयोग झेल्नुपर्ने, प्रोफेशनल भन्दा पनि पर्सनल द्धन्द्धको शिकार, समयमै पारिश्रमिक नदिने, अन्यले पाउँदा मैले केही दिन पर्खनुपर्ने, कार्यक्रमकै बीच श्रोतासंग कुरा गर्दागर्दै फोन काटिदिने, धेरै श्रोतासंग कुरा नहोस् भन्ने सोचका साथ टेक्निसियनले विज्ञापनमा समय व्यतित गरिदिने । भनौ न सफलताले समस्या निम्त्यायो । हिन्दी कार्यक्रम चलाएकाले महिला सहकर्मीले भारतीय केटीको उपनाम समेत दिन थाले । हिन्दी भाषामा कार्यक्रम संचालन गर्नु मेरो कला हो । यसको मतलब मलाई नेपाली नआउने त होइन तर सहकर्मी साथीहरुको गुटबन्दीले मलाई हेला गर्न थाले । बिस्तारै द्वन्द बढ्न थाल्यो । काम जसलाई आउँछ उसैबाट त सिक्ने हो र जसले सिक्न खोज्छ उसैलाई त सिकाउने हो । पुरुष सहकर्मीसंग काम सिक्न खोज्दा नि चरित्रमाथि प्रहार हुने । यस्तो अनेकौं अवस्थाबाट गुज्रदै रेडियोको यात्रालाई निरन्तरता दिदै अघि बढ्न थाले ।

मैले सोचेको भन्दा निकै फरक अनुभूतिका साथ अघि बढेको मेरो यात्रा रोकिएन । मैले भोगेको अनुभव तिता छन् तर यात्राबाट प्राप्त उपलब्धि भने निकै मिठो छ । अर्थात मैले रेडियो यात्रा सुरु गर्नुभन्दा अघि देखेको सपनाहरु विस्तारै पूरा हुँदै थियो । रेडियोमा बोल्ने, सबैले चिन्ने यस्तै बन्ने मेरो सपना सफलतातर्फ अघि बढ्दै थियो । यसबीचमा विभिन्न संघसंस्था र स्रोताहरुको संस्थाबाट सम्मानित हुने अवसर पाए । त्यसैले मैले हरेस खाने कुरै थिएन् । म अघि बढ्दै गए र १० वर्षदेखि अहिले पनि यात्रा निरन्तर चलिरहेको छ ।

अनेकौं अफ्ठेरो स्थितीकाबीच पनि मलाई हौसला प्रदान गर्ने व्यक्तित्वलाई यतिबेला सम्झ्न चाहन्छु । रेडियोबाट सुरु भएको मेरो यात्रा अहिले लेखन क्षेत्रतर्फ पनि अघि बढिरहेको छ । केही समययता संचार हब प्रालिद्धारा संचालित इशिलालेख डट कममा जोडिएको काम गर्ने अवसर पाएको छु । यसबीचमा आफ्नो लेखन शैलीमा निखारता ल्याउन प्रयासरत छु, सिकिरहेको छु । लेख्नका लागि संचार हब प्रालिका अध्यक्ष दिवाकर भण्डारीले प्रेरित गरिरहनुभएको छ । यो सिक्ने क्रमलाई जारी राख्नेछु ।

रेडियोबाट सुरु भएको यात्रा अनलाइन संचार माध्यमसम्म आइपुगेको छ । यात्रा संघर्षपूर्ण रहेपनि मेरा लागि निकै महत्वपूर्ण रहेको छ । बाल्यकालमा रेडियो सुनेकै कारण रेडियोप्रति बढेको मेरो आकर्षण यतिबेला मेरो कर्म क्षेत्र बनेको छ । सन्तुष्ट र उत्साहित छु ।

अन्त्यमा, मलाई यो क्षेत्रमा जोड्न सहयोग गर्नुहुने र सम्पूर्ण श्रोतावर्गलाई हार्दिक धन्यवाद दिदै १२औं अन्तर्राष्ट्रिय रेडियो दिवसको अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्