अमलेखगञ्जमा लोकसेवा तयारी कक्षा सुरु


eShilalekh

३ फाल्गुन २०७९, बुधबार २०:१६

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जमा बुधबारदेखि लोकसेवा तयारी कक्षा सुरु भएको छ ।

उपमहानगरपालिकाको वडा नं. २१ को वडास्तरीय योजना अन्तर्गत कक्षा सुरु भएको हो । नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा सुरु भएको तयारी कक्षाको वडाध्यक्ष सुवास श्रेष्ठले शुभारम्भ गरेका छन् ।

तयारी कक्षाको शुभारम्भ गर्दै वडाध्यक्ष श्रेष्ठले लोकसेवा तयारी कक्षाको मद्दतबाट युवाहरूलाई सरकारी सेवामा प्रवेश गराउन सके आफुले ठूलो उपलब्धिका रुपमा लिने बताए । उनले आफ्नो कार्यकालमा तयारी कक्षालाई निरन्तरता दिने बताए ।

कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार साहले लोकसेवा तयारी कक्षा संचालनले युवाहरूलाई  रोजगारीको अवस्था सिर्जना गर्ने बताए ।

कार्यक्रममा प्रशिक्षक सिद्धार्थ चौधरीले तयारी कक्षाको विषयमा सहभागीलाई जानकारी गराएका थिए । कार्यक्रममा कार्यपालिका सदस्य सुकुमाया कुमारी, प्रध्यानाध्यापक प्रवीण काफ्ले, वडासदस्य बद्रीनारायण साह, जमुना गौतम र सीता विक, वडासचीव जीवनकुमार क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्