यसकारण पक्राउ परे कोल्हबी ५ का वडाध्यक्ष चौधरी


eShilalekh

२७ फाल्गुन २०७९, शनिबार १७:५३

सिमराः कोल्हबी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष नन्दकिशोर चौधरीलाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । रामवनमा फागुन २३ गते भएको घटनाको निरीक्षण गर्न पुगेको टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो ।

वडाध्यक्ष चौधरीले डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहमाथी अपशब्द प्रयोग गरेको आरोप लागेको छ । निरीक्षणका लागि सिंहसहित बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, सशस्त्र प्रहरी उपरीक्षक, बाराका प्रहरी नायब उपरीक्षकलगायत सहभागी थिए ।

तीन वर्ष अघि अतिक्रमण गरिएको क्षेत्र खाली गरेर रोपिएको विरुवा र वन क्षेत्र संरक्षणका लागि लगाएको तारपोल भत्काएको घटना सार्वजनिक भएपछि प्रहरीप्रशासनसहित वन कार्यालयको टोली निरीक्षणका लागि पुगेको थियो । घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउनुअघि वन कार्यालय निरीक्षणका लागि गएको हो ।

निरीक्षणका क्रममा वडाध्यक्ष चौधरीले मदिरा सेवन गरेर अपशब्द प्रयोग गरेको डिभिजन वन अधिकृत सिंहले जानकारी दिए । कोल्हबी ५ स्थित रामवनमा वन संरक्षणका लागि रोपिएका विरुवा र तालपोल भत्काएको विषयमा बुझ्ने क्रममा वडाध्यक्ष चौधरी अमर्यादित रुपमा प्रस्तुत भएको सिंहको भनाई छ ।

वन कार्यालयले करिब ५.३ हेक्टर वन क्षेत्रलाई तारघेरा गरी तीन वर्षअघि आठ हजार आठ सय ५० विरुवा रोपेको थियो । आर्थिक वर्ष २०७७।७८ मा रोपिएको उक्त वृक्ष हुर्कदै गरेको अवस्थामा फागुन २३ गते सबै काटिएको र तारपोल भत्काएको अवस्थामा भेटिएको छ ।

डिभिजन वन अधिकृत सिंहले वडाध्यक्षलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको बताए । अनुसन्धानका लागि कार्यालयले अब्दुल करिमलाई जिम्मेवारी दिएको छ ।

यता वडाध्यक्ष पक्राउ परेको विषयलाई लिएर आक्रोशित स्थानीयले नाराबाजी गरेका छन् । वडाध्यक्षको संलग्नतानै नरहेको घटनामा पक्राउ गरेर लगिएको भन्दै स्थानीयले तत्काल छोड्न माग गरेका हुन् ।

विरुवा कटान र तारपोल भत्काउने कार्यमा भूमाफियाको संलग्नता रहेको हुनसक्ने बताउदै स्थानीयले निर्दोष वडाध्यक्षलाई नफसाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्