बैशाखपछि सम्झौता गर्दैनौ, कार्यसम्पादन ८० प्रतिशत हुन्छः पुरी


eShilalekh

१३ चैत्र २०७९, सोमबार १२:४१

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले चालु आर्थिक वर्षमा ८० प्रतिशत कार्यसम्पादन र खर्च हुने बताएका छन् । उपमहानगरपालिकाको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पुरीले खर्चको वर्तमान अवस्था न्युन रहेपनि आर्थिक वर्षको मसान्तसम्म ८० प्रतिशतको लक्ष्य लिइएको बताए ।

हालसम्म चालु आर्थिक वर्षमा उपहानगरपालिकाकाको खर्च प्रतिशत २९.४८ मात्रै छ । आर्थिक वर्ष सम्पन्न हुन तीन महिनामात्रै बाँकी रहदा कार्यसम्पादन र खर्चको उक्त अवस्था निकै न्युन हो । पुरीले तीन महिना भित्र उक्त प्रतिशतलाई बढाएर ८० सम्म पुर्याउने लक्ष्य रहेको बताए । जसका लागि कार्यालयले कर्मचारीलाई सोही अनुसार जिम्मेवारी प्रदान गरेको पुरीको भनाई थियो ।

पुरीले बैशाख महिनासम्म सम्पूर्ण योजनाको सम्झौता प्रक्रिया अघि बढाईने र बैशाख भन्दा पछि कुनै पनि योजनाको सम्झौता नहुने बताएका छन् । बैशाखपछि हुने सम्झौताको कार्यसम्पादन सन्तोषजनक नहुने हुँदा बैशाखसम्म उपभोक्ता समिति र अन्यसंग सम्झौता सम्पन्न गर्ने तयारी रहेको पुरीले बताएका छन् ।

आर्थिक वर्षको अन्तिम समयमा हुने खर्चको कार्यसम्पादनप्रति आफूहरु सचेत रहेको भन्दै पुरीले कर्मचारी र विषयगत शाखालाई जिम्मेवारी दिएर तिव्र गतिमा काम गर्न लागिएको बताए । निर्माण सम्पन्न भएका योजनाको भुक्तानी नभएको भन्ने गुनासो आफूले सुनेपनि त्यस्तो अवस्था भने नरहेको उनको भनाई थियो ।

आफू कार्यालयमा आएको छोटो समयमै पुरानो भुक्तानीको प्रक्रिया र सम्झौता गर्न बाँकी रहेका योजनालाई व्यवस्थित ढंगले अघि बढाउन प्राथमिकता दिएर काम गरेको पुरीले बताए । २० लाखसम्मका योजनाको भुक्तानी प्रक्रिया योजना महाशाखाबाटै अघि बढाउन सकिने गरी अधिकार दिइएको भन्दै पुरीले आर्थिक वर्षको अन्त्यसम्म कसैको पनि भुक्तानी बाँकी नरहने गरी काम गरिने बताए ।

यसैगरी अपेक्षा गरिएअनुरुप आम्दानी हुन नसकेपछि छैठौं नगरसभाले विनियोजन गरेको बजेटलाई घटाएर सातौं नगरसभाले संशोशित बजेट पारित गरेको पुरीले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० का लागि पारित गरिएको करिब दुई अर्व २० करोड ६६ लाख ९५ हजार बजेटबाट झण्डै ३४ करोड घटाएर सातौं नगरसभाले करिब एक अर्व ८९ करोड ६ लाख ३३ हजार संशोधित बजेट पारित गरेको छ ।

संशोधित बजेटमा आयतर्फ करिब एक अर्ब ८९ करोड र खर्चतर्फ एक अर्ब ९२ करोड ९४ लाख अनुमान गरिएको छ । उपमहानगरपालिकाको बलियो आन्तरिक स्रोतका रुपमा रहेको नदीजन्य ठेक्का यस वर्ष लाग्न सकेन् । छैठौं नगरसभाबाट नदीजन्य पदार्थको ठेक्कामा करिब १० करोड आय अनुमान गरिएको थियो । यसैगरी पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर÷सडक उपयोग शिर्षकमा छैठौं नगरसभाले दुई करोड आम्दानी हुने अपेक्षा गरेपनि हालसम्म उक्त आयको अवस्था शून्य छ । संशोधित बजेटमा उक्त अनुमानित आयलाई २० लाखमा झारिएको छ ।

यता वहाल विटौरी करतर्फ दुई करोड ४० लाख अनुमान गरिएपनि हालसम्म ३९ लाख मात्रै आय देखिएको छ । उक्त अनुमानित आयलाई पनि घटाएर ८० लाखमा ल्याइएको छ । उपमहानगरपालिकाले आन्तरिक स्रोततर्फ अनुमान गरेको १२ वटा शिर्षकमा आयको अवस्था शून्य छ । जसका कारण उपमहानगरपालिकाले बजेट घटाउनु परेको हो ।

राजश्व बाँडफाँडतर्फ उपमहानगरपालिकाले अनुमान गरेको भन्दा झण्डै १८ करोड आय कम हुने देखिएको छ । सशर्त अनुदानमा पनि झण्डै ५० लाख घटाएर आय संशोधन गरिएको छ ।

बजेट घटेसंगै छैठौं नगरसभाबाट पारित भएका नगर स्तरीय योजना कटौती गरिएको छ भने केही योजना संशोधन गरेर थप गरिएको छ । संशोधित बजेटमा चालुतर्फ लक्षित समुदायका कार्यक्रम हटाइएको छ । यसैगरी पूँजीगततर्फ बिजनेश कम्प्लेक्स, सवारी पार्किङ स्थल, कालोपत्रे सडक, नाला निर्माणलगायतका ठुला योजना हटाएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, योजना महाशाखा प्रमुख बालाराम खड्का, प्रशासन शाखा प्रमुख रामेश्वर बन्जारालगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्