जब खेलाडीले सडकमै खेले क्रिकेट..


eShilalekh

२ बैशाख २०८०, शनिबार २१:३३

सिमराः व्यस्त सडकको बीचमा स्टम्प । स्टम्प अगाडी ब्याट समातेका खेलाडी र अर्कोतर्फ बलिङ गर्न तयार बलर । सडक वरपर तैनाथ फिल्डर । सवारी साधनको चर्को हर्नको बीचबाट गुञ्जिएको ‘चौका’ को आवाजले यो दृश्यलाई दर्शक झै नियाल्न बाध्य यात्रु ।

सिमरा चोकको मुख्य बजारमा शनिवार देखिएको यो दृश्य खेल मैदानको भन्दा कम थिएन । अनि मैदानमा देखिने खेलको दृश्य सडकको बीचमै देख्दा स्थानीय र यात्रु अचम्मित नहुने कुरै भएन । झट्ट हेर्दा ट्राफिक नियमलाई गिज्याएझै लाग्ने यो दृश्य स्थानीय सरकारप्रति लक्षित थियो ।

मनोरञ्जनका लागि भन्दा पनि जीतपुरसिमरा उपमहानगरपालिकालाई दवाव दिन क्रिकेट खेलाडीले सडकलाई पिच र मैदान बनाएका थिए । पटकपटक माग गर्दा पनि स्थानीय सरकारले वेवास्था गरेपछि क्रिकेट खेलाडीले विरोधस्वरुप सडकमै क्रिकेट खेलेका हुन् ।

‘यो हाम्रो रहर होईन, बाध्यता हो । मैदान भएको भए सडकमा आएर खेल्न कसलाई रहर हुन्छ र ?’ आयुश न्यौपानेले भने ‘पटकपटक माग गर्दा समेत सुनुवाई नभएपछि विरोध जनाउन सडकमा आएका हौ ।’ आफूहरुले नगर प्रमुखलाई भेटेर मैदान अभावको विषयमा जानकारी गराएपनि वेवास्था गरिएको आयुशको भनाई छ ।

सिमरामा फूटबलका लागि थुप्रै मैदान रहेपनि क्रिकेटका लागि मैदान अभाव हुँदा खेलाडीहरु पीडित हुनुपरेको आयुशको गुनासो छ । जीतपुरसिमरा २ स्थित राधाकृष्ण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्ने अल्लारे खेल मैदानमा क्रिकेट प्रशिक्षण गर्दै आएपनि उक्त मैदान फूटबल खेलाडीले समेत प्रयोग गर्ने गरेका कारण समस्या भएको उनले बताए ।

‘अल्लारे नामले चिनिने एउटा मैदान छ, हामी समय मिलाएर त्यहाँ प्रशिक्षण गर्छौ’ उनले भने ‘फूटबल खेल्ने खेलाडी पनि त्यही आँउने भएका कारण पिच बनाउन सकेका छैनौ । पिच बनाए खनेर बिगारिदिने गरिएको छ । त्यसैले दोहोर्याएर पिच बनाउने भन्दा पनि स्थानीय सरकारसमक्ष पहल गरिरहेका छौ । तर सुनुवाई हुन सकेको छैन ।’

अल्लारे खेल मैदानलाई क्रिकेट मैदान बनाउन स्थानीय सरकारले नेतृत्व लिए क्रिकेट खेलाडीका लागि उर्जा थपिने उनिहरुको भनाई छ । फूटबलकै मैदानमा भएपनि प्रशिक्षण गरेर प्रदेश स्तरीय प्रतियोगितामा खेलाडीहरु छनौट भईरहेको अवस्थामा क्रिकेटकै मैदान भए दक्ष खेलाडी सिमराबाट उत्पादन हुन सक्ने सिमरा क्रिकेट क्लबका कप्तान देव मगरले बताए ।

‘हामीसंगै खेल्ने आरिफ र आशिफ आज देशका लागि खेलिरहेका छन्, तर हामी खेल मैदान मागेर बसिरहेका छौ’ देवले इशिलालेखलाई भने ‘क्रिकेट मैदानको अभावमा खेलाडीहरु अलपत्र छन् । यो भन्दा दुखद् अरु के हुन सक्छ ? ।’ मैदानको विषयमा नगर प्रमुख र वडाध्यक्षसंग पटकपटक छलफल भएपनि उपलब्धि भने हुन नसकेको उनले बताए ।

जीतपुरसिमराको दक्षिणतर्फ वडा नं. २४ मा हरपुर क्रिकेट मैदान छ । प्रत्येक वर्ष राष्ट्रिय स्तरको प्रतियोगिता हुने उक्त मैदानलाई व्यवस्थित बनाउन उपमहानगरपालिकाले बजेट निकासा गर्दै आएको छ । तर उत्तरतर्फ भने क्रिकेट मैदानको अभाव छ ।

उपमहानगरपालिकाको वडा नं. १ का सिमरा रंगशाला छ, जुन निर्माणाधिन अवस्थामा छ । जहाँ मोफसलकै प्रतिष्ठित फूटबल प्रतियोगिता जीतपुरसिमरा गोल्डकप आयोजना हुँदै आएको छ । सिमरा रंगशाला निर्माण सम्पन्न भएमा इनडोर खेलका लागि पूर्वाधार अभाव नहुने भएपनि क्रिकेट मैदानको समस्या भने यथावत देखिन्छ ।

त्यसैले नरबस्तीमा रहेको अल्लारे मैदानलाई क्रिकेट मैदानका रुपमा विकास गर्न खेलाडीहरुले माग राखेका हुन् । स्थानीय युवा सम्राट उपाध्यायले खेलाडीहरुको मागलाई सम्बोधन गर्ने भन्दा पनि नगर प्रमुख राजन पौडेलले क्रिकेट र फूटबल खेलाडीलाई जुधाउने काम गरिरहेको आरोप लगाएका छन् ।

‘माग सम्बोधन गर्ने भन्दा पनि क्रिकेट र फूटबल खेलाडीलाई जुधाउन नगर प्रमुख नै सक्रिय रहेको भनेर स्थानीयले बताइरहेका छन्’ उपाध्यायले भने ‘जनप्रतिनिधिको गतिविधि हेर्दा क्रिकेट खेललाई प्राथमिकता दिएको पाईदैन । हाम्रो माग भनेको क्रिकेटलाई प्राथमिकता दिएर मैदान व्यवस्थापन गरिदिनु पर्यो भन्ने मात्रै हो । ’

मैदानकै अभावमा उपमहानगरपालिकाको वडा नं. १ पथलैयाका खेलाडीहरु बर्षायाममा पानी जम्ने गैरी खाल्डोमा क्रिकेट प्रशिक्षण गर्दै आएका छन् । वर्षा सुरु भएपछि उक्त मैदानमा पानी जम्ने गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख पौडेलले अल्लारे खेल मैदानलाई क्रिकेट मैदान बनाउने विषयमा छलफल र प्रक्रिया अघि बढिरहेको बताए । फूटबल खेलाडीले समेत उक्त मैदान प्रयोग गरिरहेका कारण दुवै खेलको व्यवस्थापन हुने गरी काम अघि बढिरहेको नगर प्रमुख पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्