युवकको हत्या गरी फरार दम्पती चार महिनापछि पक्राउ


eShilalekh

८ बैशाख २०८०, शुक्रबार १६:२८

कलैयाः बाराको बिश्रामपुरमा एक युवकको हत्या गरी फरार रहेका दम्पतीलाई प्रहरीले चार महिनापछि पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ । बिश्रामपुर गाँउपालिका ५ इटियाहीमा मंसिर २७ गते भएको उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पतीपत्नीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १५ भिष्वाका २४ वर्षीय रामु भन्ने कैलाश महतो र उनकी पत्नी २० वर्षीया रौशनी देवी रहेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका ८ राजानगरका २२ वर्षीय महेश साहको हत्या गरी भारतको विभिन्न क्षेत्रमा लुक्दै आएका उनिहरुलाई नेपाल–भारत सिमा क्षेत्रबाट बुधवार पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरी उपरीक्षक बोगटीका अनुसार उनिहरुले महेशको हत्या गरी इटियाहीस्थित भुलन चौरसियाको खेतमा रहेको परालको भुसमा शव लुकाएर फरार भएका थिए । डिस ‘केवल’ को तारले घाँटी कसेर महेशको हत्या गरेको र अपराध लुकाउन परालको भुसमा शव लुकाएर उनिहरु फरार भएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

मृतक महेश र कैलाशकी पत्नी रौशनीबीच प्रेम सम्बन्ध रहेको र सोही कारण घटना भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार महेश र रौशनी लामो समयदेखि ‘लिभिङ टुगेदर’ सम्बन्धमा रहदै आएका थिए । घटनाको दिन महेश र रौशनीबीच इटियाहीमा भेट्दै गर्दा पति कैलाश आएको र सोही समयमा विवाद भएपछि पतीपत्नी मिलेर हत्या गरेको प्रहरी उपरीक्षक बोगटीले बताए ।

‘दुवैजना लिभिङ टुगेदरमा बस्दै आएका थिए । दुवैबीच विवाह हुने कुरा समेत भएको थियो । तर रौशनी विवाहित भएका कारण महेशका परिवारले मानेका थिएनन्’ प्रहरी उपरीक्षक बोगटीले भने ‘ रौशनी र महेश मंसिर २७ गते भेट गरिरहेको स्थानमा कैलाश पुगे र सोही क्रममा विवाद भएपछि दुवै पतीपत्नी मिलेर हत्या गरेको देखियो ।’

घटनापछि रौशनी र कैलाश भारतको बिहार, दिल्ली, केरलामा लुकेर बसेका थिए । भारत प्रहरीसंगको समन्वयमा पक्राउ गरिएका उनिहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्