दुर्घटनाको एउटा तस्वीर, जसले सामाजिक संजाल ततायो


eShilalekh

१५ बैशाख २०८०, शुक्रबार १३:०६

सिमराः वीरगन्ज–कलैया सडकखण्डमा बिहिवार राती भएको एउटा दुर्घटनाको तस्वीर सामाजिक संजाल फेसबुकमा एकैछिनमा फैलियो । तस्वीरमा हेल्मेट लगाएका एक व्यक्ति छडमा छेडिएको अवस्थामा थिए । उनको शरिरबाट रगत बगिरहेको थियो ।

तस्वीरसंगै सामाजिक संजालमा लेखिएको थियो ‘सिसहनियामा ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु ।’ टाउकोमा हेल्मेट भएपनि तस्वीरमा मोटरसाइकल नदेखिएका कारण ट्याक्टरले असुरक्षित तरिकाले ढाला भन्दा बाहिर निकालेर बोकेको छडमा छेडिएर चालकको मृत्यु भएको र मोटरसाइकल भने ट्याक्टरको टेलरभन्दा तल गएको बुझ्न सकिन्छ ।

दुर्घटनासंगै सडक सुरक्षाको वर्तमान अवस्था प्रष्ट्याउने उक्त तस्वीरको विषयमा आधिकारिक पुष्टि प्रहरीले गर्न बाँकी थियो । घटनालगत्तै बाराका प्रहरी प्रवक्तालाई ह्वाट्सएपमा घटनाका विवरण सोधिएपनि जवाफ आएन । यसअघि ह्वाट्सएप ग्रुपमार्फत जिल्लाको गतिविधि प्राप्त हुने गरेको र सो समयमा प्रहरी प्रवक्ता समेत अनलाईन देखिएपछि तत्कालै ह्वाट्सएपबाटै घटनाबारे जानकारी मागियो ।

तर म्यासेज हेरेर पनि जवाफ नआएपछि घटनाको विवरण आउन बाँकी रहेको बुझियो । रातीको ११ः३५ भइसकेको र प्रहरीले पुष्टि गर्न बाँकी रहेका कारण सामाजिक संजालमा भेटिएको एउटा भयानक दुर्घटनाको तस्वीर समाचार बन्न सकेन ।

ह्वाट्सएप ग्रुपमा शुक्रवार बिहान करिब ९ बजे प्रहरी प्रवक्ताबाट दुर्घटनाको विवरण आयो । जसअनुसार वीरगन्जबाट कलैयातर्फ जादै गरेको ना५त ८२५० नम्बरको ट्याक्टरमा सोहि दिशाबाट गइरहेको बा८०प ४०२१ नम्बरको मोटरसाइकल टेलरमा लोड भएको छडमा ठोक्किन पुग्दा चालक कलैया उपमहानगरपालिका वडा नं. २१ का २५ वर्षीय राजनकुमार रामको मृत्यु भएको पुष्टि भयो । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।

विवरणमा दुर्घटनाको कारण उल्लेख गरिएको छैन । तर सामाजिक संजालमा ट्याक्टर चालक र ट्राफिक प्रहरीको लापरवाहीका कारण दुर्घटना भएको भन्दै चर्को आलोचना भइरहेको छ । रातीको समयमा असुरक्षित तरिकाले टेलरको ढालाभन्दा बाहिर छड निकालेर सडकमा गुड्न बन्देज लगाउनुपर्ने आवाज उठिरहेको छ ।

सामाजिक संजालमा चर्को आलोचना हुन थालेपछि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख, प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले रातीको समयमा असुरक्षित तरिकाले छडलगायत अन्य सामान ढुवानी गर्ने सवारीसाधनलाई तत्काल नियन्त्रणमा लिने गरी परिपत्र गर्न लागिएको बताएका छन् । उक्त दुर्घटना दुखद् भएको भन्दै प्रहरी उपरीक्षक भट्टराईले अब नदोहोरिने गरी ट्राफिक प्रहरी सक्रिय हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्