घरमा आगलागी हुँदा आदर्श कोतवालको एकै परिवारका चार जना जलेर घाईते
![](https://i0.wp.com/www.eshilalekh.com/wp-content/uploads/2023/05/346785577_1447983229374126_3036542393951521748_n.jpg?fit=2048%2C923&quality=95&strip=all&ssl=1)
सिमराः बाराको आदर्श कोतवाल गाउँपालिका १ च्युटाहास्थित एक घरमा आइतबार राती आगलागी हुँदा एकै परिवारका चार जना जलेर घाईते भएका छन् । घाइते हुनेमा पतीपत्नी र दुई छोरा रहेका छन् ।
लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएका हुन् । उनिहरुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ ।
![](https://i0.wp.com/s3.eshilalekh.com/2023/05/346305199_1215890559294258_5656963227558391418_n.jpg?resize=720%2C324&quality=95&strip=all&ssl=1)
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम पाण्डेका अनुसार घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भिर रहेको छ । सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी उनिहरुलाई अस्पताल लगेका थिए ।
आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा आगलागी हुँदा सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत जलेर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पाण्डेका अनुसार आगलागीबाट चार लाख १० हजार बराबरको क्षती भएको छ ।
![](https://i0.wp.com/s3.eshilalekh.com/2023/05/346060121_1438717970221844_7971253225990054307_n.jpg?resize=720%2C324&quality=95&strip=all&ssl=1)