तीन वर्षदेखि मलेसियाको जेलमा रहेका केसीलाई उद्धार गरेर सिमरा ल्याईयो


eShilalekh

९ जेष्ठ २०८०, मंगलवार ००:२६

सिमराः तीन वर्षदेखि मलेसियाको जेलमा रहेका जीतपुरसिमरा उपमहानगरपालिका १ का ४७ वर्षीय विनय केसीलाई उद्धार गरी सिमरा ल्याइएको छ । आप्रवासी हकहित संजाल बाराको सक्रियतामा केसीलाई उद्धार गरेर सिमरा ल्याइएको हो ।

स्न २००२ मा मलेसिया पुगेका केसी पछिल्लो तीन वर्षदेखि पेनाङस्थित जेलमा रहेका थिए । मलेसिया पुगेको तीन वर्ष पेनाङमै रहेको एक कम्पनीमा कार्यरत केसी त्यसयता लुकेर काम गर्दै आएका थिए । १७ वर्ष मलेसियाको विभिन्न कम्पनीमा काम गरेका उनले तीन वर्ष अघि प्रहरीसामू आत्मसमर्पण गरेका थिए ।

रोजगारदाता कम्पनीले पासपोर्ट फिर्ता नदिएपछि आफू लुकेर लामो समय काम गरेको र तीन वर्ष अघि आफैले प्रहरीसामु गएको केसीले बताए । प्रहरी सामु नगएसम्म नेपाल फर्किने अवस्था नभएपछि जेलमा गएको र तीन वर्ष जेल जिवन बिताएपछि मात्रै आफू नेपाल आउन सफल भएको बताए ।

केसी जेलमा रहेको जानकारी पाएपछि आप्रवासी हकहित संजालले रिहाइका लागी पहल थालेको थियो । नेपाली राजदुताबासमार्फत केसीको नाम प्राप्त भएपछि व्यक्ति पहिचान गरी रिहाका लागि पहल गरेको संजाल बाराका अध्यक्ष रुद्र खतिवडाले जानकारी दिए ।

संजालले सोमबार जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र नगर उपप्रमुख भोलाप्रसाद अधिकारीलाई भेटेर केसीलाई उद्धार गरिएको जानकारी गराउदै नेपालमै जिविकोपार्जनका लागि वातावरण बनाइदिन आग्रह गरेका थिए । दुई दशकभन्दा बढी मलेसियामा रहेका केसीसंग हाल नागरिकता पनि नरहेको हुँदा नागरिकता बनाउनका लागि स्थानीय सरकारले पहल गरिदिनुपर्ने भन्दै संजाल अध्यक्ष खतिवडाले ध्यानाकर्षण गराएका थिए ।

नगर उपप्रमुख अधिकारीले केसीलाई उद्धार गर्न पहल गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै जिविकोपार्जनका लागि उपमहानगरपालिकाको कार्यालयले काम गर्ने बताए । बैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई लक्षित गरी उपमहानगरपालिकाले योजना संचालन गरिरहेको बताउदै अधिकारीले उच्च मनोबलका साथ अघि बढ्न केसीलाई हौसला प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्