जातिय विभेदविरुद्ध जाग्दै दलित अगुवा


निलिसा वर्मा

३ असार २०८०, आईतवार १२:१७

बाराः जातीय भेदवाव र छुवाछूतलाई नेपालमा दण्डनीय अपराधका रुपमा लिने गरिन्छ । जातिय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) (पहिलो संशोधन) ऐन २०७५ ले जातका आधारमा हुने विभेदलाई अपराध सरह रहेको व्याख्या गरेको छ ।

कानुन विपरित रहेपनि देशमा जातिय विभेदका घटना भने पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । जसका कारण दलित समुदायका नागरिक पीडित हुनुपरेको छ । समाजमा हुने गरेको जातिय विभेदका कारण अन्य नागरिक सरह जिवनयापन गर्न नपाएको गुनासो दलित समुदायका नागरिकको छ ।

जीतपुसिमरा १० नितनपुरकी सुगन्धी पासवान दलित समुदायमाथी हुने विभेदविरुद्धको अभियन्ता हुन् । तर उनि आफैले दलित भएका कारण विभेदको सामना गर्नुपरेको कयौं उदारहण छन् । नितनपुरमा लामो समय खाना तथा खाजाको होटल संचालन गरेकी पासवानसंग जातिय विभेदको सामना गर्नुपरेको थुप्रै उदाहरण छन् ।

दलितले होटल संचालन गरेको भन्दै अन्य समुदायका नागरिकबाट अपहेलित हुनुपरेको पीडा सुनाउदै पासवानले खाना खान आउने ग्राहकबाट समेत दुव्र्यवहार भोग्नुपरेको बताउछिन् । जिविकोपार्जनका लागि होटल व्यवसाय गरेकी पासवान अन्ततः आफ्नो व्यवसाय बन्द गरिन् । होटल संचालन हुँदै आएको जग्गा बिक्री भएपछि नयाँ जग्गाधनीले उनलाई राख्न चाहेनन् । जसका कारण उनले व्यवसाय बन्द गर्नुपर्यो ।

दलित समुदायको अधिकारका लागि यतिबेला सक्रिय रहदै आएकी पासवान जातिय विभेदको अन्त्य नभएसम्म समाज परिवर्तन हुन नसक्ने बताउछिन् । उनले जातका आधारमा हुने विभेद अन्त्य गर्नका लागि दलित समुदायका नागरिक समेत जागरुक हुनुपर्ने बताईन् । उनले विभेद अन्य गर्न आफू सशक्त ढंगले अघि बढिरहेको र हातेमालो गर्दै अघि बढ्न अन्य दलित समुदायका अगुवालाई समेत आग्रह गरिन् ।

पासवानका अनुसार दलित समुदायका नागरिकले समाजको हरेक क्षेत्रमा विभेद भोग्नुपरेको छ । विभिन्न सार्वजनिक कार्यक्रम तथा पर्वको समयमा दलितमाथी विभेद हुनु गरेको पासवाले सुनाईन् ।

दलित समुदायले छठ पर्वमा अन्य नागरिकसंग बसेर सामुहिकरुपमा बसेर पूजा गर्न नपाएको थुप्रै घटना बाहिरिने गरेको छ । दलित भएकै कारण मन्दिर प्रवेशमा समेत रोक लगाउने गरेको पाईन्छ । छठ पर्वको समयमा छठघाटमा आफूहरुले पूजा सामाग्री राख्दा फ्यालिदिने गरेको अनुभव पासवाले सुनाईन् । उक्त घटनाविरुद्ध आफूले प्रहरीमा जाहेरी दिएको र दौरा फ्याक्ने व्यक्तिलाई केही दिन नियन्त्रणमा लिएर छाडेको पासवानले बताईन् ।

विभेदकै कारण दलित समुदायले छुट्टैै बसेर छठ मनाउनुपर्ने बाध्यता छ । एकै ठाउँमा छठ मनाए पनि ‘शिवशोक्ता’ छुट्टैै हुने गर्दछ । दलित बाहेकका जाति एउटै ठाँउमा बस्छन भने डोम (मली), दुसाद (पासवान), चमार (महरा, राम) जातिकी व्रतालुहरु भिन्दाभिन्दै पंडालमा बसेर छठ मनाउने गर्दछन् ।

सुवर्ण गाउँपालिका वडा नम्बर १ स्थित घुसुकपुरमा गत चैत २६ गतेदेखि वैशाख ५ गतेसम्म पूजापाठ हुने गरी आयोजना गरिएको महायज्ञमा स्थानीय चमार समुदायलाई छुवाछुत मानेर प्रवेश गर्न रोक लगाइएको थियो । चमार समुदायकी महिला पूजामा सहभागी हुन खोज्दा छोइने भन्दै अन्य समुदायका नागरिकले पूजामा सहभागी हुन दिएनन् ।

जातीय विभेद र छुवाछुत विरुद्धको कानुन बनाए पनि दलितलाई जातकै आधारमा विभेद र दुव्र्यवहार गर्ने प्रवृत्ति अझै कायम रहेको पिस फोर दलित फाउण्डेसन नेपालका अध्यक्ष तथा दलित समुदायका अभियन्ता मनोज रामले बताए । बारा, पर्सा लगायत मधेस प्रदेशकै दलित समुदायका अगुवा रामले विभेदविरुद्ध अभियान संचालन गरेपनि दुव्र्यवहारका घटनामा कमी नआएको बताउछन् । उनले दलितमाथी हुने विभेदको घटनाविरुद्ध सम्बन्धित निकायमा पुग्दा न्याय पाउन समेत कठिन हुने गरेको बताए ।

संघीय संरचना अनुसार देशको तीन तहको सरकारमा दलित समुदायलाई स्थान दिइएको छ । तर समाजमा अझै पनि विभेदले जरा गाडेको रामको दुःखेसो छ । स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलित समुदायका नागरिकले उठाएका आवाज समेत सम्बोधन नहुने रामले बताए ।

‘ स्थानीय सरकारको कार्यपालिकामा समेत दलित सदस्यहरूले उठाएका आवाजको सुनुवाइ कम हुने गरेको गुनासो आउँछ । स्थानीय सरकारमा भएर पनि विभेदका कुरा छन् । दलित सदस्यको कुरा सुनुवाइ र कार्यान्वयन कम हुन्छन् । सहि छाप लगाउन मात्र निर्वाचित भएको गुनासो आउँछ ।’

नागरिकता , लालपुर्जा र जन्मदर्ताको समस्याका कारण बाराका दलितबस्तीका नागरिक अझैपनि ऐलानी जमिनमा बस्न बाध्य रहेको रामले बताए । गरिबि, अशिक्षित र चेतनाको कमीले पनि दलित समुदायक नागरिक पछि परिरहेको रामले बताएका छन् ।
उनका अनुसार दलितबस्तीका नागरिकमा पछिल्लो समय बालबालिकालाई विद्यालय पठाउनु पर्छ भने चेतनाको विकास भईरहेको छ । तर विद्यालयमा समेत दलित विद्यार्थीमाथी विभेद हुँदा पीडित हुनुपरेको घटना आफूलाई आएको उनको भनाई छ । विद्यालयमा हुने विभेदबाट जोगिन नाम पछाडीको थर समेत लुकाउनुपर्ने बाध्यता रहेको रामले बताए ।

दलित महिलाहरु आफुमाथी हुने हिंसालाई सामान्य घटनाको रुपमा लिदा समेत समस्या भईरहेको दलित अगुवा बताउछन् । जातका आधारमा गरिने सबै विभेद कानुन विपरित भएपनि चेतनाको कमीले दलित समुदायले सामान्य घटनाका रुपमा लिने गरेका कारण समस्या भईरहेको रामको भनाई छ । उनले दलित समुदायमाथी हुने विभेद नियन्त्रणका लागि दलित समुदायक पनि जागरुक र सचेत हुनुपर्ने बताए ।

दलित समुदायलाई सचेत गराउनका लागि पछिल्लो समय सडक नाटक, चेतनामुलक कार्यक्रमलाई तिव्रता दिईरहेको रामको भनाई छ । स्थानीय सरकारले पनि जातिय विभेद अन्त्य गर्नका लागि आफ्नो वार्षिक कार्यक्रममा दलित समुदाय प्राथमिकता दिन आवश्यक रहेको दलित अभियन्ता रामले बताए ।

प्रतिक्रिया दिनुहोस्