बाघले एकैपटक १० वटा बाख्रा मारेपछि गुरुङ दम्पती समस्यामा


eShilalekh

३ श्रावण २०८०, बुधबार १९:३०

सिमराः जंगली बाघले एकैपटक १० वटा बाख्रा मारेपछि जीतपुरसिमरा १६ टांगियाबस्तीका एक किसान दम्पती समस्यामा परेका छन् । बाख्रापालन गरेर जिविकोपार्जन गर्दै आएका स्थानीय धनबहादुर थिङ र उनकी पत्नी जोगमाया बाघले खसी तथा बाख्रा मारेपछि समस्यामा परेका हुन् ।

उनिहरुले पाल्दै आएको बाख्राको बथानलाई घर नजिकैको जंगलमा बाघले आक्रमण गरेको थियो । सधैजसो जंगलमा चराएर ल्याउने क्रममा घरदेखि पाँच सय मिटर टाढाको जंगलमा बाघले बाख्रा मारेको स्थानीय रमेश सापकोटाले जानकारी दिए ।

जंगलबाट बाख्रा नफर्किएपछि स्थानीयले खोज्ने क्रममा बाख्रा मरेको अवस्थामा फेला परेको सापकोटाले बताए । बाघको आक्रमणबाट मरेकामध्ये केही बाख्राको शरिरको भाग नभेटिएको उनको भनाई छ ।

एकैपटक ठुलो संख्यामा बाख्रा मारिएपछि थिङ दम्पती भने चिन्तित भएका छन् । बाघको आक्रमणबाट एक लाख ५० हजार भन्दा बढी मूल्यको बाख्रा मरेको पीडितको भनाई छ । थिङ दम्पतीले बाख्रापालन गरेर दैनिक गुजारा टार्दै आएका थिए । स्थानीयका अनुसार बाख्रापालन उनिहरुको मुख्य आयस्रोत रहेको थियो ।

थिङ दम्पतीले पाल्दै आएको बाख्रा मारिएपछि स्थानीयले भने क्षतिपूर्तिका उलपब्ध गराउन माग गरेका छन् । पीडित दम्पतीलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने स्थानीयको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्