धन्सार पुल नजिकको सडकमा बेवारिसे भेटियो चार महिने शिशु


eShilalekh

१६ श्रावण २०८०, मंगलवार १४:५४

सिमराः बारा र रौतहटको सिमानामा पर्ने धन्सार पुल नजिकको सडकमा मंगलवार बेवारिसे भेटिएको चार महिने शिशुलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ । ईलाका प्रहरी कार्यालय निजगढको प्रहरीले टोलीले सडक छेउमा फेला परेको शिशुलाई उद्धार गरेर कलैयास्थित अस्पताल लगेको हो ।

सडक छेउमा बालकलाई बेवारिसे अवस्थामा देखेपछि यात्रुले प्रहरीलाई खबर गरेका थिए । यात्रुको सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले शिशुलाई उद्धार गरेर अस्पताल लगेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

शिशुलाई कलैयास्थित प्रादेशिक अस्पतामा चिकित्सकको निगरानीमा राखिएको छ । प्रहरी उपरीक्षक बोगटीले शिशुलाई सडकमा छोड्ने व्यक्तिको खोजी भईरहेको जानकारी दिए ।

बोगटीका अनुसार शिशु फेला परेको घटना सार्वजनिक भएलगत्तै अभिभावकत्व लिनका लागि केही व्यक्तिले चासो देखाएका छन् । पहिला अभिभावकको खोजी गरिने र अभिभावकको अवस्था पत्ता नलागेमा शिशुको पालनपोषण गर्न सक्ने व्यक्तिलाई कानुनी प्रक्रिया पूरा गरी दिन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्