पचरौताकी उपप्रमुख खातुनसहित परिवारमाथि कुटपिट


eShilalekh

२ भाद्र २०८०, शनिबार २२:०१

सिमराः बारा पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनको घरमा शनिवार राती एक समूहले आक्रमण गरेका छन् । बैरियास्थित घरमा करिब ८ बजे आएको एक समूहले उपप्रमुख खातुन, उनका पति नेवाजी अंसारीसहित परिवारमाथी आक्रमण गरेका हुन् ।

आक्रमणबाट उपप्रमुख खातुन, उनका पति अंसारीसहित परिवारका सदस्य घाईते भएका छन् । घाईतेको गण्डकस्थित न्युरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

घरमा बसिरहेका बेला पचरौता नगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज यादवसहित जसपाका कार्यकर्ताले उपप्रमुख र परिवारका सदस्यमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । आक्रमणसंगै उक्त समूहले उपप्रमुखको घरमा लुटपाट समेत गरेको स्थानीयले बताएका छन् ।

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि उपप्रमुखको घरमा पुगेका थिए । प्रहरी घटनास्थल पुग्दा घरका दराज, बाक्सा र सामान फालिएको अवस्थामा थियो । उक्त समूहले यसअघि पनि उपप्रमुखको घरमा आक्रमण गर्दै आएको र प्रहरीमा उजुरी दिँदा दर्ता नगरिएको स्थानीयको भनाई छ ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घटनाबारे आफूले पनि जानकारी पाएको र प्रहरी परिचालन गरिएको बताए । पुरानो विषयलाई लिएर जसपाका कार्यकर्ताले उपप्रमुखको घरमा गएर कुटपिट गर्दा दोहोरो झडप भएको र झडपका क्रममा दुवै पक्ष घाईते भएको जानकारी आफूले पाएको प्रहरी उपरीक्षक बोगटीको भनाई छ ।

प्रहरी उपरीक्षक बोगटीले घटनास्थलको स्थिती अहिले सामान्य रहेको र दुवै पक्षका घाइतेको उपचार भईरहेको बताए । बोगटीले थप झडप हुन नदिन प्रहरी परिचालन गरिएको र घटनाको विषयमा आफूले बुझिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्