वडा कार्यालयमा ताला लगाएर जनप्रतिनिधि र कर्मचारी हिडेपछि…


eShilalekh

३ भाद्र २०८०, आईतवार २१:३१

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २३ को वडा कार्यालय आइतबार दिउँसो ३ नबज्दै बन्द भयो । नियमानुसार पाँच बजेसम्म कार्यालय खुल्नुपर्ने भएपनि दुई घण्टा अगाडीनै जनप्रतिनिधि र कर्मचारी मुलगेटमा ताला लगाएर निस्किए ।

कार्यालय बन्द गर्नुपर्ने कारण सेवाग्राहीलाई जानकारी गराइएन । वडा कार्यालयको सूचना पाटीमा समेत कुनै सूचना थिएन । उपमहानगरपालिकाको कार्यालय समेत यस विषयमा बेखबर रहेको थियो । नियमानुसार पाँच बजेसम्म खुल्नुपर्ने कार्यालय बन्द भएपछि सेवाग्राही अलमल्लमा परे ।

जनप्रतिनिधि र कर्मचारी कार्यालयनै बन्द गरेर हिडेपछि सेवाग्राहीले उपमहानगरपालिकाको कार्यालयमा गुनासो गर्न थाले । उपमहानगरपालिकाका अधिकृत रमेश सुवेदी र प्रशासन शाखा प्रमुख रामेश्वर बन्जारालाई सेवाग्राहीले फोन गरेर वडा कार्यालय बन्द रहेको विषयमा जानकारी गराए ।

वडा कार्यालय बन्द रहेको सूचना पाएलगत्तै सुवेदी र बन्जारा वडा नं. २३ को कार्यालयमा पुगे । सेवाग्राहीले सूचना दिएजस्तै वडा कार्यालयको मूल गेटमा ताला झुण्डिएको थियो भने सेवाग्राहीहरु बाहिर बसिरहेका थिए । सूचना बिनानै कार्यालय बन्द भएको पाइएपछि निरीक्षणका लागि पुगेको उपमहानगरपालिकाको टोली आवश्यक कारवाही गरिने र अब कार्यालय समय अवधीभर सेवा नरोकिने गरी कार्यालय संचालन गरिने आश्वासन दिएर फर्कियो ।

यता वडा कार्यालय बन्द रहेको सूचना पाएपछि काठमाडौं पुगेका वडासचिव सिद्धार्थ चौधरी समेत अचम्मित हुन पुगे । अत्यावश्यक कामका कारण वडाध्यक्ष मुस्तकिम अंसारीलाई जानकारी गराउदै चौधरी काठमाडौं गएका रहेछन् । चौधरीले आफ्नो अनुपस्थितीमा हुनसक्ने कामका विषयमा वडाध्यक्ष अंसारी र सहयोगी हसमुद्धिन मिया मन्सुरीलाई जानकारी गराएर काठमाडौं गएका थिए । तर आफू हिडेकै दिन वडा कार्यालय बन्द गरिएको भन्ने सूचना पाएपछि दुःख लागेको चौधरीले बताए ।

चौधरीका अनुसार दुई जनामात्रै कर्मचारी रहेको वडा कार्यालयमा आफू काठमाडौं आएको र कार्यालय सहयोगीले दिउँसोसम्म सेवा दिएपछि खाना खानका लागि एकछिन बन्द गरेको भन्ने सूचना आफूले पाएको बताए । वडा कार्यालयनै बन्द गरेर हिड्न नमिल्ने भन्दै चौधरीले कार्यालय सहयोगीबाट त्रुटी हुन पुगेको बताए । चौधरीले अबका दिनदेखि वडा कार्यालय तोकिएको समयसम्मै खुल्ने र सेवा प्रवाह गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्