पथलैयामा श्रीकृष्ण जात्रा सम्पन्न


eShilalekh

२२ भाद्र २०८०, शुक्रबार १२:४८

सिमराः कृष्ण जन्माष्टमीको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयामा श्रीकृष्ण जात्रा २०८० सम्पन्न भएको छ । जन्माष्टमी पर्व जात्राको रुपमा मनाईने पथलैयामा यस वर्षपनि पूजा, रथ यात्रा, लाँखे नाँच र सांगीतिक कार्यक्रमको आयोजना गरिएको हो ।

जनैपूर्णिमाको दिन लाँखे निकालेर सुरु हुने जात्रा जन्माष्टमीको भोलाीपल्ट श्रीकृष्ण भगवानको रथयात्रा निकालेसंगै सम्पन्न हुने गरेको छ । जन्माष्टमी पर्वलाई उल्लासका साथ मनाउने परम्परालाई निरन्तरता दिदै संचार हब प्रा.लिले सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो ।

सांगीतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसंगै कला तथा संगित क्षेत्रमा योगदान पुर्याउने तीन जना श्रष्टा सम्मानित भएका थिए । सम्मानित हुनेमा गायक तथा संगितकार कल्याण आलेमगर, गायक ध्रुव लामा र थुप्रै चलचित्रमा अभिनय गरेका कलाकार उद्धव राई रहेका छन् । उनिहरुलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङ, संचार हब प्रा.लिका अध्यक्ष दिवाकर भण्डारी, पूजा व्यवस्थापन तथा सांगीतिक कार्यक्रमका संयोजक दीपेन्द्रकुमार श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

श्रष्टासम्मान पछि आयोजित सांगीतिक कार्यक्रममा गायक कमल के क्षेत्री, गायक कल्याण आले मगर, गायिक शान्ता रानी परियार, प्रतिमा केसी, दि योङ नीति, स्क्रिमिङ ब्याण्ड, डिजे लुपसहित स्थानीय कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा नेवा सांस्कृतिक पुचले लाँखे नाँच प्रस्तुत गरेको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को कार्यालयको मुख्य सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन समारोहमा वडाध्यक्ष गुरुङ, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष कैमुदिन अंसारी, वडा नंं ७ का वडाध्यक्ष सुनिल गुप्ता, वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङ, वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठ, वडा नं. १ का वडासदस्य राकेश सुब्बा, फुसुमदेवी श्रेष्ठ, वडा नं. २ का वडासदस्य बिशाल घिमिरे, होटल तथा पर्यटन व्यवसायी संघका बाराका अध्यक्ष अर्जुन लम्साल, खानेपानी उपभोक्ता तथा सरसफाई समिति पथलैयाका अध्यक्ष सुरेशकुमार लामा, युआर अटोमेटिक लण्ड्रीका संचालक उमेश चौलागाईं, नयाँ गोरेटो पुर्नस्थापना केन्द्रका अध्यक्ष राजकुमार लामालगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमका अवसरमा जात्रालाई सफल बनाउन सहयोग गर्ने सहयोगी संघसंस्थालाई समेत सम्मान गरिएको थियो । कार्यक्रमलाई सफल बनाउन मुख्य सहयोगी जीतपुरसिमरा वडा नं. १ को कार्यालय, मुख्य प्रायोजक गोर्खा ब्रुखरी प्रालि, सहप्रायोजक वडा नं. २, ६, ७, १४ को कार्यालय, पीआरडी फूड एण्ड वेभरेज प्रालि, इन्टरनेट पार्टनर भायोनेट कम्युनिकेशन प्रालिसहित विभिन्न संघसंस्थाले सहयोग गरेका थिए ।

कार्यक्रम संयोजक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण भुवन थापा, रेहान कायस्थ र संचारकर्मी प्रकाश लम्सालले गरेका थिए ।

रथ यात्रासंगै सकियो जात्रा

जनैपूर्णिमाको दिन लाँखे निकाले सुरु हुने जात्रा श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट रथ यात्रा निकाले सम्पन्न भएको छ । कृष्ण जन्माष्टमीको दिन राती १२ बजे कृष्ण भगवानले लाँखेको बध गर्ने र सोही खुशीयालीमा भोलीपल्ट रथ यात्रा निकाल्ने परम्परा छ ।
आयोजक समितिले बिहिवार साँझ श्री कृष्ण मन्दिरबाट रथ यात्रा निकालेर पथलैया परिक्रमा गरेको थियो । रथको परिक्रमासंगै यस वर्षको जात्रा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्