चौतर्फी दवावपछि शिक्षक पासवानको सरुवा रोकियो, साविककै विद्यालयमा खटाइयो


eShilalekh

१७ आश्विन २०८०, बुधबार २०:४५

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक ब्रम्हदेव पासवानको सरुवा हाललाई स्थगित गरेको छ । सामाजिक संजाल र स्थानीय स्तरमा चौतर्फी दवाव बढ्दै गएपछि उपमहानगरपालिकाले शिक्षक पासवानको सरुवा स्थगित गर्दै साविकको विद्यालयमा खटाउने निर्णय गरेको हो ।

शिक्षक पासवानलाई एक महिनाअघि सिमराबाट जीतपुरसिमरा २४ हरपुरस्थित विद्यालयमा सरुवा गरिएको थियो । उपमहानगरपालिकाको निर्णय स्विकार्दै आफू कार्यरत विद्यालयबाट रमाना बुझेर हरपुर पुगेका शिक्षक पासवानले सरुवा भएको विद्यालयमा हाजिर पाएका थिएनन् ।

कार्यरत विद्यालयबाट रमाना बुझिसकेको र सरुवा भएको विद्यालयमा हाजिर गर्न रोक नदिएपछि चार दशकदेखि शिक्षण पेशामा आवद्ध शिक्षक पासवान अलपत्र परेका थिए । करिब एक महिनादेखि हाजिर गर्न नपाएर शिक्षक पासवान अलपत्र परेको विषयले केही दिनदेखि सामाजिक संजाल तातेको थियो भने पूर्व विद्यार्थीहरुले विरोधका कार्यक्रम समेत सुरु गरेका थिए ।

शिक्षक सरुवा गर्ने तर सरुवा भएको विद्यालयमा शिक्षकले हाजिर गर्न पाए नपाएको विषयमा उपमहानगरपालिकाले चासो नदिएको भन्दै सामाजिक संजालमा चर्को आलोचना भईरहेको थियो । यता शिक्षक पासवानले पनि हाजिर गर्न नपाएका कारण पीडित हुनुपरेको बताउदै आएका थिए ।

चौतर्फी दवावपछि उपमहानगरपालिकाले आफ्नो निर्णय उल्टाएर शिक्षक पासवानको दरबन्दी हरपुर कायम गर्दै सिमरास्थित विद्यालयमा काजमा खटाउने निर्णय गरेको हो । सरुवा स्थगित गर्ने उपमहानगरपालिकाको पछिल्लो निर्णयको स्वागत गर्दै सामाजिक संजालमा शिक्षक पासवानले न्याय पाएको भन्दै खुशी व्यक्त गर्ने क्रम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्