उपमहानगरलाई झुक्याउदै सरकारी जग्गाबाट माटो चोरी गरि बिक्री, जनप्रतिनिधिकै संलग्नताको आशंका


eShilalekh

२२ आश्विन २०८०, सोमबार १७:१३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ मा नम्बरी जग्गाको स्वीकृति लिएर सरकारी जग्गाको माटो चोरी गर्दै बिक्री गरेको घटना बाहिर आएको छ । उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय र प्राविधिकलाई झुक्याउदै सरकारी जग्गाबाट माटो चोरी गरेर जीतपुरसिमरा ४ स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा बिक्री गरेको घटना बाहिर आएको हो ।

नम्बरी जग्गाबाट व्यवसायिक बिक्रीका लागि भन्दै अनुमति लिएको तर सरकारी जग्गाबाट माटो चोरी गरि बिक्री गरेको घटना बाहिर आएपछि स्थानीय आक्रोशित भएका छन् । स्थानीयले जनप्रतिनिधिकै संरक्षण र निर्देशनमा माटो चोरी भएको भन्दै कारवाहीको माग गर्न थालेका छन् । माटो चोरी गरी बिक्री गर्ने काममा वडा नं. ११ जनप्रतिनिधि र दलका केही नेताको संलग्नता रहेको स्थानीयको आरोप छ ।

स्थानीय महमद दिन मिया चुरिहारले साविक फत्तेपुर गाविस वडा नं. ९ (हाल जीतपुरसिमरा वडा नं. ११) स्थित कित्ता नम्बर ३५ को पाँच बिगाह क्षेत्रफलको जग्गाबाट एक सय टिपर माटो व्यवसायिक बिक्रीका लागि भन्दै अनुमति माग गरेका थिए । तर मियाले अनुमति पाएको भन्दा फरक अर्थात कित्ता नं. ४२ को १८ बिगाह जग्गामध्ये दुई बिगाह जग्गाबाट एक हजार भन्दा बढी टिपर माटो उत्खनन् गरी बिक्री गरेको पाइएको छ ।

चुरिहारको माग बमोजिम वडा नं. ११ को कार्यालयले स्वीकृति प्रदानका लागि असोज ४ गते नगर कार्यपालिकाको कार्यालयलाई सिफारिस गरेको थियो । वडाको सिफारिस लिएर नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम बराल उपमहानगरपालिकाको कार्यालय पुगेका थिए । सोही सिफारिसपत्रको आधारमा उपमहानगरपालिकाको कार्यालयले प्राविधिक मुल्यांकन समेत नगरी माटो बिक्रीका लागि स्वीकृति प्रदान गरेको थियो ।

स्वीकृति प्रदान गर्नुअघि उपमहानगरपालिकाबाट खटिएका प्राविधिक टोलीलाई समेत झुक्याइएको पाइएको छ । वडाको सिफारिसपत्र अनुसार जग्गाको अवस्था बुझ्न उपमहानगरपालिकाबाट प्राविधिकको टोली खटिएको थियो । वडाको सिफारिसका आधारमा जग्गाको अवस्था बुझ्न गएको प्राविधिकको टोलीलाई वडाका जनप्रतिनिधिले कित्ता नं. ३५ भन्दै हाल उत्खनन् गरिएको जग्गा अर्थात कित्ता नं. ४२ देखाएका थिए ।

वडासदस्यसहितका जनप्रतिनिधिले देखाएको जग्गालाई अनुमति प्रदान गर्न सकिने भन्दै प्राविधिकको सिफारिसपछि उपमहानगरपालिकाले वडामा निवेदन दिएका मियाका बुवा हसिना चुरिहारलाई सम्बोधन गर्दै असोज ५ गते स्वीकृति दिएको थियो । उपमहानगरपालिकाले ७० हजार राजश्व लिदै प्रदान गरेको स्वीकृति पत्रमा मधेस प्र.०२-०३-००१ख ७६४७, मधेस प्र.०२-०३-००१ख २५९६, लु२ख ८६४२ नम्बरको तीन वटा टिपर, ना१क ६५६७ नम्बरको एउटा एक्साभेटर र ३६०४६.०८ घनफिट अर्थात एक सय टिपर माटो उत्खनन् गर्नका लागि स्वीकृति प्रदान गरेको हो ।

नम्बरी जग्गाबाट एक सय टिपर माटो व्यवसायिक बिक्रीका लागि अनुमति लिएर सरकारी जग्गाबाट एक हजार टिपर भन्दा बढी माटो उत्खनन् गरी बिक्री भईसक्दा समेत वडाका जनप्रतिनिधिले भने अनविज्ञता प्रकट गरिरहेका छन् । उक्त परिमाण उपमहानगरपालिकाले प्रदान गरेको भन्दा १०औं गुणा बढी हो । नम्बरी जग्गालाई प्रदान गरेको स्वीकृतिको दुरुपयोग गर्दै सरकारी जग्गाबाट माटो उठाएको घटना बाहिर आएपछि उपमहानगरपालिकाको प्राविधिक टोलीले अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा स्वीकृति लिएको भन्दा फरक स्थान र बढी परिमाणमा माटो उत्खनन् भएको पाइएको ईन्जिनियर सञ्जीव रुपाखेतीले बताए ।

रुपाखेतीका अनुसार स्वीकृती लिइएको भन्दा करिब एक सय ५० मिटर पूर्वतर्फको सरकारी जग्गाबाट माटो उत्खनन् भएको छ । सो क्रममा माटो उत्खनन् गरिरहेको एउटा एक्साभेटरलाई समेत उपमहानगरपालिकाको अनुगमन टोलीले नियन्त्रणमा लिएको छ । सरकारी जग्गाबाट अनियन्त्रित उत्खनन् भएको पाइएपछि उपमहानगरपालिकाको कार्यालयले माटो खरिद गर्ने उद्योगसंग विवरण माग गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदराज फुयलले पशुपति सेरामिक्स उद्योगलाई पत्राचार गर्दै विवरण माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्