माटो चोरी प्रकरणमा गिरोह सक्रिय, समातिएको एक्साभेटर भगाइयो


eShilalekh

२३ आश्विन २०८०, मंगलवार १९:०६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ११ मा नम्बरी जग्गाको स्वीकृति लिएर सरकारी जग्गाबाट माटो चोरी गरी विशेष आर्थिक क्षेत्र (सेज) मा बिक्री गरेको घटना सार्वजनिक भएपछि नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले मंगलबार स्थलगत निरीक्षण गरेका छन् । उपमहानगरपालिकाको राजश्व परामर्श समितिको संयोजक समेत रहेका अधिकारीले वडाको जनप्रतिनिधिकै मिलोमतोमा भएको उक्त घटनाको वास्तविकता बुझ्न स्थलगत अनुगमन गरेका हुन् ।

स्थलगत अनुगमनपछि संचारकर्मीसंग प्रतिक्रिया दिदै उपप्रमुख अधिकारीले माटो चोरी प्रकरणमा ठुलो माफिया सक्रिय देखिएको बताएका छन् । बढी आर्थिक लाभ लिने उदेश्यसहित उपमहानगरपालिकाको कर्मचारीलाई समेत झुक्याएर माटो चोरी गरेको पाइएको भन्दै उपप्रमुख अधिकारीले यस प्रकरणमा संलग्न माफियाको खोजी गरिने बताए ।

उपमहानगरपालिकाको कार्यालयसंग नम्बरी जग्गाको स्वीकृति लिएर सार्वजनिक जग्गाबाट करोडौं मूल्य बराबरको माटो चोरी गर्ने घटना सामान्य विषय नरहेको उनको भनाई थियो । राजश्व चुहावटसंग सम्बन्धित विषय भएकाले यस घटनाको अनुसन्धान गरेर दोषीलाई कारवाहीसहित छलि गरिएको रकम समेत असुलउपर गरिने उपप्रमुखको अधिकारीको भनाई छ ।

उपप्रमुखका अनुसार उपमहानगरपालिकाको कार्यालयले साविक फत्तेपुर गाविस वडा नं. ९ हाल जीतपुरसिमरा वडा नं. ११ को कित्ता नम्बर ३५ को पाँच बिगाह क्षेत्रफलको जग्गाबाट एक सय टिपर माटो व्यवसायिक बिक्री गर्नका लागि स्वीकृति प्रदान गरिएको थियो । तर स्थलगतरुपमा अनुगमन गर्दा सोही वडाको कित्ता नं. ४२ को सार्वजनिक जग्गाबाट हजारौं टिपर माटो उत्ख्नन गरेको पाइएको अधिकारीले जानकारी दिए ।

वडा नं. ११ को कार्यालयले स्थानीय महमद दिन मिया चुरिहारलाई स्वीकृति प्रदान गर्न असोज ४ गते गरेको सिफारिसका आधारमा उपमहानगरपालिकाको कार्यालयले ७० हजार राजश्व बुझेर अनुमति दिएको थियो । स्वीकृति प्रदान गर्नुअघि उपमहानगरपालिकाबाट ईन्जिनियर सञ्जीव रुपाखेतीको टोली जग्गाको निरीक्षण गर्न खटिएका थिए । सो क्रममा प्राविधिक टोलीलाई समेत कित्ता नं. ३५ भन्दै कित्ता नं. ४२ को जग्गा देखाएर भुक्याएको पुष्टि भएको छ । प्राविधिक टोलीलाई जग्गा देखाउन वडाका केही जनप्रतिनिधिसहित स्थानीय पुगेका थिए ।

यसअघि वडा कार्यालयको सिफारिस लिएर नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम बराल जनप्रतिनिधिसहित उपमहानगरपालिकाको कार्यालय पुगेको बुझिएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष विन्दालाल साहद्धारा हस्ताक्षरित सिफारिस बोकेर उपमहानगरपालिका पुगेका नगर कमिटी अध्यक्ष बरालले स्वीकृति प्रदानका लागि सहजीकरण गर्न ईन्जिनियर रुपाखेतीलाई अनुरोध गरेका थिए ।

वडाका जनप्रतिनिधि र राजनीतिक दलका जिम्मेवार नेताको अनुरोधपछि उपमहानगरपालिकाको कार्यालयले मधेस प्र.०२-०३-००१ख ७६४७, मधेस प्र.०२-०३-००१ख २५९६, लु२ख ८६४२ नम्बरको तीन वटा टिपर, ना१क ६५६७ नम्बरको एउटा एक्साभेटर र ३६०४६.०८ घनफिट अर्थात एक सय टिपर माटो उत्खनन् गर्नका लागि स्वीकृति प्रदान गरेको थियो । उपमहानगरपालिकाले एउटा एक्साभेटरको अनुमति दिएपनि जग्गामा दुई वटा एक्साभेटर प्रयोग भएको पाइएको छ । प्रयोग भएका एक्साभेटरमा नम्बर समेत देखिदैन ।

सार्वजनिक जग्गाबाट अनियन्त्रित रुपमा माटो उत्खनन् गरि बिक्री गरेको पाइएपछि वडाका अन्य स्थानीयले उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका थिए । स्थानीयको ध्यानाकर्षणपछि वडामा पुगेको उपमहानगरपालिकाको टोलीले नम्बर उल्लेख नभएको एउटा एक्साभेटरले सार्वजनिक जग्गाबाट माटो उत्खनन् गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उपमहानगरपालिकाको टोली पुग्दा हरियो रंगको एक्साभेटरले कित्ता नं. ४२ को सार्वजनिक जग्गामा उत्खनन् गरिरहेको थियो । उक्त एक्साभेटर जीतपुरका युवा व्यवसायी सुनिल गुप्ताको रहेको बताइएको छ ।

उपमहानगरपालिकाको टोलीले नियन्त्रणमा लिएर राखेको एक्साभेटर सोमबार राती बेपत्ता पारिएको छ । वडा नं. ११ स्थित निर्माणाधिन उद्योग परिसरमा राखिएको एक्साभेटर रातीको समयमा भगाइएको हो । सरकारी टोलीले नियन्त्रणमा लिएर राखेको एक्साभेटर बेपत्ता पारिदा समेत स्थानीय प्रहरीप्रशासन अनविज्ञ देखिएका छन् । उद्योगमा कार्यरत सुरक्षा गार्डले सुत्ने बेला उद्योगभित्रै रहेको एक्साभेटर बिहान उठ्दा नदेखिएको बताए ।

एक्साभेटर भगाइएसंगै माटो चोरी घटनालाई सामसुम पार्न खोजिएको देखिन्छ । जिम्मेवार जनप्रतिनिधि र दलका नेताको नाम समेत घटनामा मुछिएपछि आन्तरिकरुपमै माटो चोरी प्रकरणलाई थामथुम पार्न खोजिएको स्थानीयले बताएका छन् ।

‘चोरिएको माटो सेजमा खपत’
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ को सार्वजनिक जग्गाबाट चोरी भएको माटो सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा निर्माणाधिन उद्योगमा खपत भएको पाइएको छ । देशकै राष्ट्रिय गौरवको आयोजनामा पर्ने सेजभित्र निर्माण हुँदै गरेको पशुपति सेरामिक्स उद्योगमा चोरीको माटो खपत भएको पाइएको हो ।

माटो चोरी प्रकरण सार्वजनिक भएपछि उपमहानगरपालिकाको कार्यालयले पशुपति सेरामिक्ससंग विवरण समेत माग गरिसकेको छ । तर उद्योगले हालसम्म उपमहानगरपालिकाको कार्यालयलाई विवरण उपलब्ध गराउन सकेको छैन ।

टायल तथा मार्बल उत्पादन गर्ने उदेश्यसहित निर्माण हुँदै गरेको उक्त उद्योगलाई चोरीको माटो उपलब्ध गराउन केही जनप्रतिनिधि, दलका नेता, सेजका कर्मचारी, निर्माण व्यवसायीको संलग्नता रहेको बुझिएको छ । उधोगमा ठूलो परिमाणमा माटो आवश्यक भएपछी सार्वजनिक जग्गाबाट माटो उत्खनन् गर्ने योजना बनेको हो ।

माटो चोरी प्रकरणमा स्थानीय प्रहरीप्रशासनको समेत मिलोमतो रहेको स्थानीयको आरोप छ । उक्त माटो भित्राउन सेजको मुख्य गेट नभई अस्थायी गेटको प्रयोग गरेको देखिएको छ । माटोबाहेक सेजमा अनियमित तरिकाले नदीजन्य पदार्थ समेत भित्राएर भण्डारण गर्दै बिक्री गर्ने गरेको समेत पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्