माटो चोरी प्रकरणः अनुसन्धान सुस्त, भगाइएको एक्साभेटर अझै अज्ञात


eShilalekh

२४ आश्विन २०८०, बुधबार २१:३३

सिमराः सार्वजनिक जग्गाबाट माटो चोरी गरी बिक्री गरेको घटनामा सम्बन्धित निकायको अनुसन्धान सुस्त देखिएको छ । जीतपुरसिमरा ११ मा नम्बरी जग्गाको स्वीकृति लिएर सरकारी जग्गाबाट कराडौं मूल्य बराबरको माटो चोरी गरि बिक्री गरेको घटनामा सम्बन्धित निकाय जीतपुरसिमरा उपमहानगरपालिकाको अनुसन्धान सुस्त देखिएको हो ।

माटो चोरी प्रकरणमा उपमहानगरपालिकाको कार्यालयले हालसम्म संलग्न व्यक्तिको पहिचान गर्न सकेको छैन भने नियन्त्रणमा राखिएकै समयमा भगाइएको एक्साभेटरको अवस्थाका बारेमा समेत कार्यालय अनविज्ञ छ । सरकारी टोलीले नियन्त्रणमा लिएर राखेकै ठाँउबाट सोमबार राती भगाइएको एक्साभेटरको अवस्था बुधवार साँझसम्म पत्ता लाग्न सकेको छैन ।

घटना सार्वजनिक भएपछि उपमहानगरपालिकाको कर्मचारीसहितको प्राविधिक टोलीले पहिलो र उपप्रमुख भोलाप्रसाद अधिकारीको टोलीले दोस्रो पटक स्थलगत निरीक्षण गरिसकेका छन् । पहिलो पटक निरीक्षणका लागि पुगेको योजना महाशाखा प्रमुख बालारम खड्का र ईन्जिनियर सञ्जीव रुपाखेतीसहितको टोलीले नियन्त्रणमा लिएर राखेको एक्साभेटर उपप्रमुख अधिकारीको टोली पुग्दा अज्ञात बनिसकेको थियो ।

कानुन विपरित काम गरिरहेको अवस्थामा सरकारी टोलीले नियन्त्रणमा लिएको एक्साभेटर राखेकै ठाँउबाट भगाउदा समेत उपमहानगरपालिका, वडा कार्यालय र स्थानीय प्रहरीप्रशासन अनविज्ञ देखिन्छन् । सरकारी टोलीले नियन्त्रणमा लिएर राखेको एक्साभेटर रातारात भगाउनुले पनि माटो चोरी प्रकरण शंकास्पद बन्दै गएको छ ।

नम्बरी जग्गाको नाममा सिफारिस लिएर सार्वजनिक जग्गाबाट एक हजार भन्दा बढी टिपर माटो चोरी भएको घटनामा उपमहानगरपालिकाले हालसम्म स्पष्ट धारणा सार्वजनिक गरेको छैन । अनुगमनका लागि पुगको सरकारी टोलीले सार्वजनिक जग्गाबाट माटो चोरी भएको निष्कर्ष भने निकालिसकेको छ ।

अनुगमनपछि उपप्रमुख अधिकारी र ईन्जिनियर रुपाखेतीले अनियमित तरिकाले माटो उत्खनन् भएको बताउदै यस विषयमा अनुसन्धान जरुरी रहेको बताएका छन् । यता उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल पनि घटनाको अनुसन्धान भईरहेको बताउछन् ।

‘घटनालगत्तै अनुसन्धानको काम सुरु भईसकेको छ । हामी काम गरिरहेका छौं’ नगर प्रमुख पौडेलले भने ‘अनुसन्धानले दोषी देखाएको सबैलाई कारवाही हुन्छ । हामी बेथितिको अन्त्य गर्छौ ।’ नगर प्रमुख पौडेलले अज्ञात बनाइएको एक्साभेटर खोजीका लागि समेत प्रहरीप्रशासनसंग समन्वय भईरहेको बताए ।

के हो माटो चोरी प्रकरण?

जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले साविक फत्तेपुर गाविस वडा नं. ९ हाल जीतपुरसिमरा वडा नं. ११ को कित्ता नम्बर ३५ को पाँच बिगाह क्षेत्रफलको जग्गाबाट एक सय टिपर माटो व्यवसायिक बिक्रीका लागि भन्दै असोज ५ गते स्वीकृति प्रदान गरेको देखिन्छ । वडा नं. ११ का अध्यक्ष विन्दालाल साहले जग्गाधनी महमद दिन मिया चुरिहारले वडामा निवेदन दिएको जनाउदै असोज ४ गते अनुमति प्रदान गर्न उपमहानगरपालिकाको कार्यालयलाई सिफारिस गरेका थिए ।

उक्त सिफारिस लिएर नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम बराल उपमहानगरपालिकाको कार्यालय पुगेका थिए । वडाले गरेको सिफारिसका आधारमा उपमहानगरपालिकाले मधेस प्र.०२-०३-००१ख ७६४७, मधेस प्र.०२-०३-००१ख २५९६, लु२ख ८६४२ नम्बरको तीन वटा टिपर, ना१क ६५६७ नम्बरको एउटा एक्साभेटर प्रयोग गर्न र ३६०४६.०८ घनफिट अर्थात एक सय टिपर माटो उत्खनन् गर्नका भन्दै ७० हजार राजश्व लिएर स्वीकृति प्रदान गरेको थियो ।

माटो उत्खनन्का लागि उपमहानगरपालिकाले एउटा एक्साभेटर प्रयोग गर्न अनुमति प्रदान गरेपनि सरकारी जग्गामा नम्बर समेत उल्लेख नभएका दुई वटा एक्साभेटर प्रयोग भएको पाइएको छ । दुई वटा एक्साभेटरमध्ये एउटा घटनास्थल नजिकै नियन्त्रणमा छ भने अर्को राखेकै ठाँउबाट भगाइएको छ । उक्त दुवै एक्साभेटर जीतपुरका व्यवसायी सुनिल गुप्ताको हो ।

यता सिफारिस प्रदान गर्नुअघि उपमहानगरपालिकाबाट ईन्जिनियर रुपाखेती जग्गाको स्थलगत निरीक्षणका लागि पुगेका थिए । निरीक्षणका लागि पुगेका रुपाखेतीलाई कित्ता नं. ३५ भन्दै कित्ता नं. ४२ देखाएको पाइन्छ । सिफारिस दिएको १० दिनपछि माटो चोरी प्रकरण सार्वजनिक हुन्छ । र घटनापछि पुनः स्थलगत निरीक्षणका लागि पुगेका रुपाखेती समेत चकित पर्छन् । उनले अनुमति प्रदान गर्नुअघि हेरेको जग्गा कित्ता नं. ३५ नभएर कित्ता नं. ४२ रहेको पुष्टि हुन्छ । ईन्जिनियर रुपाखेतीले वडाका जनप्रतिनिधि र केही स्थानीय आफै आएर जग्गा देखाएको बताउछन् । घटनामा उपमहानगरपालिकाबाट खटिएको प्राविधिकलाई समेत झुक्याएको देखिन्छ ।

उपमहानगरपालिकाका राजश्व शाखाका प्रमुख रमेश सुवेदीले माटो चोरी प्रकरणमा उपमहानगरपालिकाले गहिरिएर अनुसन्धान गर्ने बताए । कार्यालयलाई समेत झुक्याएर गरिएको उक्त गलत काममा संलग्न सबैलाई कारवाही हुने सुवेदीले बताए ।

अनुसन्धानमा हस्तक्षेप हुदैनः नगर प्रमुख पौडेल

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले माटो चोरी प्रकरणका सन्दर्भमा भईरहेको अनुसन्धानमा राजनीतिक हस्तक्षेप नहुने बताएका छन् । माटो प्रकरणमा आफ्नै पार्टीका नेता र वडाध्यक्षको नाम जोडिएको विषयमा आफूले अनुसन्धानलाई असहयोग हुने काम नगर्ने बताए ।

नगर प्रमुख पौडेलले संचारमाध्यम र सामाजिक संजालमा आउनुअघि नै स्थानीयले दिएको सूचनाका आधारमा आफूले घटनाको अनुसन्धान गर्न कर्मचारी परिचालन गरेको बताएका छन् । ‘संचारमाध्यम र सामाजिक संजालमा पछि आएको हो । हामीलाई त स्थानीयले पहिलानै जानकारी गराईसक्नुभएको थियो’ नगर प्रमुख पौडेलले भने ‘स्थानीयले जानकारी दिएलगत्तै मैले सत्यतथ्य बुझ्न कर्मचारी परिचालन गरिसकेको थिए ।’

बेथितिलाई निरुत्साहित गर्न सदैव आफ्नो प्रयास रहने भन्दै नगर प्रमुख पौडेलले घटनालाई राजनीतिसंग जोडेर पूर्वाग्रही नहुन समेत आग्रह गरेका छन् । पौडेलले सामाजिक संजालमा आएका टिकाटिप्पणी विशुद्ध राजनीतिक प्रहार रहेको बताए । नगर प्रमुख पौडेलले आफूसंगै र आफू आवद्ध दललाई बदनाम गर्ने नियतसहित टिकाटिप्पणी भईरहेको बताएका छन् । ‘कसैलाई जोगाउनु पर्छ भनेर होइन, बेथिति अन्त्य गर्न भनेर लागिरहेको छु’ नगर प्रमुख पौडेलले भने ।

‘चोरिएको माटो सेजमा बिक्री’

वडा नं. ११ को सार्वजनिक जग्गाबाट चोरी भएको माटो सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा निर्माणाधिन उद्योगमा बिक्री गरेको पाइएको छ । देशकै राष्ट्रिय गौरवको आयोजनामा पर्ने सेजभित्र निर्माण हुँदै गरेको पशुपति सेरामिक्स उद्योगले उक्त चोरीको माटो किनेको हो ।

चोरीको माटो सेजसम्म ल्याउने वातावरण बनाउन जनप्रतिनिधि, व्यवसायी, वडा नं. ११ का केही स्थानीय संलग्न देखिएका छन् । यता माटो चोरी प्रकरण सार्वजनिक भएपछि उपमहानगरपालिकाको कार्यालयले पशुपति सेरामिक्ससंग विवरण समेत माग गरिसकेको छ । तर उद्योगले हालसम्म उपमहानगरपालिकाको कार्यालयलाई विवरण उपलब्ध गराएको छैन् ।

टायलको उत्पादन गर्ने उदेश्यसहित करोडौंको लागतमा निर्माण हुँदै गरेको उक्त उद्योगलाई चोरीको माटो उपलब्ध गिरोह सक्रिय देखिएको छ । उक्त माटो भित्राउन सेजको मुख्य गेट नभई अस्थायी बाटोको प्रयोग गरेको पाइएको छ ।

माटोबाहेक सेजभित्र अनियमित तरिकाले नदीजन्य पदार्थ समेत भित्राएर भण्डारण गर्दै बिक्री गर्ने गरेको समेत देखिएको छ । उपप्रमुख अधिकारीले सेजको अनुगमन गर्दै उक्त बाटो बन्द गर्न निर्देशन दिईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्