जीतपुरसिमरामा किन टिक्दैनन् प्रमुख प्रशासकीय अधिकृत ?


eShilalekh

१२ मंसिर २०८०, मंगलवार १६:४२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिक्षा महाशाखाका प्रमुख शिवजी प्रसादले पाएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेष्ठताको आधारमा सोमबार शिवजी प्रसादलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

शिवजी प्रसादलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको पत्र मंगलबार जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा आएको छ । पत्र आएसंगै शिवजी प्रसादले प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज थालेका छन् ।

भदौ महिनामा हाजिर भएका वेदराज फुयलको गृह मन्त्रालयमा सरुवा भएपछि मन्त्रालयले जेष्ठ कर्मचारीको रुपमा रहेका उपसचिव शिवजी प्रसादलाई नै आर्थिक र प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी प्रदान गरेको हो । शिवजी प्रसादलाई दुई महिनाका लागि सो जिम्मेवारी दिएको मन्त्रालयको पत्रमा उल्लेख छ ।

यससंगै पछिल्लो १० महिनामा उपमहानगरपालिकामा तेस्रो पटक प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । करिब अढाई वर्ष प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेका चेतकुमार पोखरेलको मन्त्रालयमा सरुवा भएपछि २०७९ फाल्गुनमा हरिलाल पुरी नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका थिए ।

स्थानीय तहमा लामो समय काम गरेको अनुभव बटुलेका पुरी धेरै समय टिक्न सकेनन् । उनि ६ महिनामै सरुवा भए । रौतहटको चन्द्रपुर नगरपालिकाबाट आएका पुरी पुनः चन्द्रपुर नै फर्किए । पुरी र जनप्रतिनिधिबीचको सम्बन्ध छोटो समयमै बिग्रियो । पुरी आफैले सरुवा मागेपछि मन्त्रालयले जीतपुरसिमराको प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त राख्दै उनको सरुवा गर्यो ।

पुरीको सरुवा भएपछि उपमहानगपालिकाको कामकाज प्रभावित बन्न पुग्यो । उनको स्थानमा केही समयपछि वेदराज फुयल हाजिर भए । फुयललाई स्थानीय तहको अनुभव थिएन । फुयलले जिम्मेवारी सम्हालेपनि अन्यौलता र चाडपर्वका कारण उपमहानगरको कामले गति लिन सकेन ।

यसबीचमा प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबीचको सम्बन्ध बिग्रदै गयो । फुयलले चाडपर्वको समयमा विभिन्न योजनाको भुक्तानी नै नदिएर हिडेपछि जनप्रतिनिधिको चर्को आलोचना भयो । जनप्रतिनिधिसंग समन्वय नै नगरी फुयल बिदामा बसेपछि स्थिती थप जटिल बन्यो ।

उपमहानगरपालिकाले चाडपर्वको समयदेखिनै फुयलको विकल्प खोज्न थाल्यो । फुयलमा पनि जीतपुरसिमरामा बस्ने रुचि देखिएन । उनि सरुवा गराउन खोजिरहेका थिए ।

फुयलबाट कामकाज नहुने देखेपछि प्रमुख र उपप्रमुखले नयाँ प्रमुख प्रशासकीय अधिकृतको खोजी तथा मन्त्रालयमा ताकेता गर्न थाले । तर जीतपुरसिमरामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न इच्छुक उपसचिव स्तरका कर्मचारी सहजै भेटिएन ।

सहसचिवको दरबन्दी रहेको उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्न उपसचिव तहका कर्मचारी समेत उत्साहित भएर नआउने अवस्था छ । प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेर काम गर्ने उपसचिव स्तरका कर्मचारी सहजै नभेटिएपछि उपमहानगरपालिकाकै अनुरोधमा मन्त्रालयले शिवजी प्रसादलाई जिम्मेवारी दिएको हो ।

यता जनप्रतिनिधि र कर्मचारीबीच समन्वयको कमिले १० महिनामै तेस्रो पटक प्रमुख प्रशासकीय अधिकृत फेरिदा उपमहानगरपालिकाको कामकाज भने प्रभावित बनिरहेको छ । चालु आर्थिक वर्षको पाँच महिना बित्न लागिसक्दा पनि खोला ठेक्का प्रक्रिया, योजना सम्झौतालगायतका काम रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्