विवादित बम्जनः रतनपुरीको जंगलदेखि सिआईबीको हतकडीसम्म

सिमराः प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले तपस्वी भनिएका रामबहादुर बम्जनलाई बुधबार सार्वजनिक गरेको छ । काठमाडौंको बुढानिलकन्ठस्थित घरबाट सिआईबीको टोलीले मंगलबार साँझ बम्जनलाई पक्राउ गरेको थियो ।
बारा रतनपुरीका बम्जनमाथी हत्या, यौनहिंसालगायतको आरोप छ । सर्लाही जिल्ला अदालतले २०७६ माघ २३ गते उनलाई पक्राउ गर्न आदेश दिएपछि प्रहरीले खोजी गरिरहेको थियो । प्रहरीबाट लुक्दै आएका बम्जनलाई पक्राउ गर्न सिआईबीले ‘अप्रेसन ब्लु’ चलाएको थियो ।
बुढानिलकण्ठस्थित घरमा रहेको सूचना पाएपछि पुगेको सिआईबीको टोलीले पक्राउ गर्न खोज्दा बम्जन घरमाथीबाट हाम्फालेर भाग्न खोजेका थिए । उनलाई प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएको सिआईबीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
बम्जनको घरबाट प्रहरीले तीन करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैया बरामद गरेको छ । जसमध्ये दुई करोड तीन लाख ७५ हजार पाँच सय नेपाली र ३० लाख ९२ हजार चार सय ६ रुपैया बराबरको १७ देशको विदेशी मुद्रा रहेको छ । सिआईबीको टोलीले उनको घरबाट १५ थान मोबाईल, दुई थान ल्यापटप, पाँच थान आइप्याड र ट्याब, २० थान पेनड्राइभ, गाडी र मोटरसाइकलको चाबीलगायतको सामान बरामद गरेको छ ।

बम्जनले बोधी श्रवण धर्म संघ ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा धुम्बाराहीस्थित एक शोरुमबाट पाँच करोडको गाडी लिने तयारी गरिरहेका थिए । जसका लागी उनले तीन करोड रुपैया समेत बुझाईसकेका थिए । टोयोटा फर्च्युनर गाडी चढ्दै आएका बम्जनले , क्रस फायर, केटिएम ड्युक मोटसाइकल, यमहा रे जेडआर स्कुटर समेत प्रयोग गर्ने गरेका थिए ।
बम्जनलाई सर्लाही जिल्ला अदालत पठाउने तयारी भईरहेको सिआइबीका सूचना अधिकारी नवराज अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा हत्या, यौनहिंसालगायतको मुद्धा छ ।
२०६२ साल जेठ २ गते रतनपुरको जंगलमा तपस्यारत अवस्थामा भेटिएका बम्जन केही समयपछि विवादमा आएका थिए । रतनपुरनको जंगलमा पिपलको रुखमुनी सेतो बस्त्र लगाएर ध्यानमा बसिरहेको अवस्थामा देखेपछि लिटल बुद्धको रुपमा उनको चर्चा सुरु भएको थियो ।
रतनपुरको जंगलमा १० महिना बसेका उनि त्यसपछि हलखोरिया जंगलमा पुगेका थिए । उनले हलखोरिया जंगलमा गुम्बालगायत पूर्वाधार बनाउन लगाए । हलखोरिया जंगलमा हुँदा उनले स्लोभाकियाकी मारिची नामकी महिलालाई तीन महिना र अर्की एक महिला आनीलाई बन्धक बनाएको आरोप छ । तपस्यास्थल प्रवेश गरेको भन्दै उनले एक युवामाथी तरवार र मनहर्वाका १७ सर्वसाधारणलाई कोर्रा प्रहार गरेका थिए । उनीमाथी वन क्षेत्र अतिक्रमण गरेको समेत आरोप थियो ।
स्थानीय प्रशासन र वन कार्यालयले तपस्यास्थलमा बनाएको पूर्वाधार भत्काएपछि उनि बाराबाट अन्यत्र गएका थिए । बारामा रहदा बम्जनले २०६६ सालको विश्वप्रसिद्ध गढीमाई मेलामा बली रोक्ने घोषणा गरेका थिए । तर गढीमाई मेलाकै समयमा बेपत्ता भएपछि उनिमाथी अविश्वास बढ्दै गएको थियो ।
