दलितसंग प्रेम सम्बन्ध राखेको भन्दै बाबुले गरे छोरीको हत्या


eShilalekh

११ माघ २०८०, बिहीबार १५:०८

सिमराः दलित युवासँग प्रेम सम्बन्ध राखेको भन्दै बारा फेटा गाउँपालिकाका एक बाबुले आफ्नै १५ वर्षीया छोरीको हत्या गरेको घटना सार्वजनिक भएको छ । पर्साको जगरनाथपुरमा साउन १३ गते बरामद शवको अनुसन्धान गर्दै जाँदा घटनाको रहस्य खुलेको हो ।

प्रहरीका अनुसार फेटा गाउँपालिका १ त्रिवेणी टोलका हरिन्द्र महतोले कक्षा ८ मा अध्ययनरत आफ्नो छोरी कौशिलाको हत्या गरेका हुन् । महतोले पर्साको बिश्रामपुरस्थित मामाघरमा बस्दै आएकी कौशिलाको हत्या गरी जगरनाथपुरको सुपौली खोला किनारमा शव फालेका थिए ।

शव बरामद भएपछि पर्सा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको थियो । सोही क्रममा फेटाकी कौशिला पाँच महिना भन्दा बढी समयदेखि हराइरहेको सूचना पाएपछि प्रहरी घटनासम्म पुगेको हो । साउन ११ गतेदेखि बेपत्ता भएकी कौशिलाको शव साउन १३ गते फेला परेको थियो । तर शवको पहिचान हुन सकेको थिएन ।

प्रहरीले महतोलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि घटनाको वास्तविकता खुलेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् । सोधपुछका क्रममा महतोले छोरीको हत्या गर्नुको कारण दलित युवासंगको प्रेम सम्बन्ध रहेको बताएका छन् ।

प्रहरीका अनुसार महतोले दुई जना सहयोगीसँग मिलेर कौशिलालाई गाडीमा लगेर हत्या गरेको र शवलाई खोला किनारमा फालेको बयान प्रहरीलाई दिएका छन् । बारा प्रहरीले महतोलाई नियन्त्रणमा लिएर पर्सा प्रहरीको जिम्मा लगाएको छ । घटनाको थप अनुसन्धान पर्सा प्रहरीले सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्