विद्यार्थी मृत्यु प्रकरणः पीडित परिवारलाई १० लाख क्षतिपूर्तिसहित रोजगारी, निजी विद्यालयमा शोकविदा


eShilalekh

१७ माघ २०८०, बुधबार २१:४३

सिमराः बाराको अमलेखगञ्जमा बुधबार बिहान रडले छेडेर मृत्यु भएका विद्यार्थी लक्की गोलेको परिवारले क्षतिपूर्तिवापत १० लाख रकम पाउने भएका छन् । नेपाल आयल निगमको अमलेखगञ्जस्थित प्रादेशिक कार्यालयमा भएको छलफलमा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमती भएको हो ।

क्षतिपूर्ति रकमसंगै लक्कीका अभिभावकमध्ये एक जनालाई आयल निगममा रोजगारी र काजक्रिया खर्चवापत २५ हजार रकम उपलब्ध गराउने सहमती भएको जीतपुरसिमरा उपमहानगरपालिका २१ का वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिए । आयल निगमले काजक्रिया खर्चवापत २५ हजार रकम पीडित परिवारलाई हस्तान्तरण गरेको छ ।

अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयले विद्युतिकरणका लागि भन्दै सडकको पेटीमा गाडेको पोलको रडमा छेडिएर स्थानीय ललित गोलेका ११ वर्षीय छोरा लक्कीको घटनास्थलमै ज्यान गएको थियो । घरबाट विद्यालयका लागि निस्किएका लक्कीको टाउको निगमको कार्यालय अगाडी पोलमा भर्‍याङ बनाउन राखिएको रडमा छेडिएको थियो ।

लक्की जीतपुरसिमरा १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए । उनि विद्यालयको पोशाक लगाएर आयल निगम अगाडी रहेको पार्किङस्थलतर्फ जादै थिए । उक्त पार्किङ स्थलमा उनकी आमा बिमला गोलेले ठेला राखेर चिया र खाजाको पसल संचालन गर्दै आएकी थिईन् । लक्की पार्किङ स्थलबाट विद्यालयका लागि बस चढ्ने गरेका थिए ।

आयल निगमले कार्यालय (डिपो) बाट कर्मचारी निवासतर्फ विद्युतिकरणका लागि करिब तीन वर्ष अगाडी गाडिएको उक्त पोलमा चढ्नका लागि रड वेल्डिङ गरेर भर्‍याङ बनाइएको थियो । विद्युतिकरणको काम सम्पन्न भएपछि कार्यालयले उक्त रड निकाल्न वेवास्था गर्दा घटना हुन पुगेको हो ।

लक्कीको शव शल्यपरिक्षणपश्चात् परिवारले बुझेका छन् । उनको अन्तिम संस्कार विहीबार गरिने वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

विद्यार्थी निधनको शोकमा जीतपुरसिमराका निजी विद्यालय विहीबार बन्द हुने

कक्षा ५ मा अध्यनरत लक्कीको निधनको शोकमा जीतपुरसिमराका निजी विद्यालय विहीबार बन्द हुने भएका छन् । उनि पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा अध्ययनरत थिए ।

लक्की निधनको शोकमा जीतपुरसिमराका निजी विद्यालयले शोकवक्तब्य जारी गर्दै एक दिनका लागि पठनपाठन बन्द हुने जनाएका छन् । एनप्याब्सन बाराका कोषाध्यक्ष एवम् न्यू एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल मदन रिजालले जीतपुरसिमराका सबै निजी विद्यालयले शोकविदा दिएको जनाए ।

यो पढ्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्