भूमि आयोगद्धारा बडहर्वामा नापी सुरु, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी उत्साहित


eShilalekh

१८ माघ २०८०, बिहीबार १०:२३

सिमराः राष्ट्रिय भूमि आयोग बाराले जीतपुरसिमरा उपमहानगरपालिका १८ स्थित बडहर्वामा बुधवारदेखि जग्गा नापी सुरु गरेको छ । अघिल्लो वर्ष वडा कार्यालयले वितरण गरेको निस्सा अनुसार जग्गाधनी पूर्जा उपलब्ध गराउन आयोगले नापी सुरु गरेको हो ।

निस्सा वितरण भएपनि समयमै नापी नहुँदा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासमा रहेका परिवार अन्यौलमा थिए । वडा कार्यालयले आफ्नो वडा क्षेत्र भित्रका भूमिहिन र अव्यवस्थित बसोबासमा रहेका नौ सय १५ परिवारलाई निस्सा वितरण गरेको थियो ।

भूमि आयोग बाराका अध्यक्ष छविलाल उप्रेतीसहित प्राविधिक टोलीको उपस्थितीमा नापी सुरु गरिएको हो । टोलीले साविकको भोडहा ६(ग) को कित्ता नं. १९ लाई आधार मानेर नापी सुरु गर्ने बताइएको छ ।

आयोगद्धारा नापी सुरु भएसंगै आवास र भूस्वामित्व सुनिश्चित हुनेमा भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी आशावादी देखिएका छन् । जीतपुरसिमरा १८ का वडाध्यक्ष चतुरबाबु वाग्लेले पटकपटकको आग्रहपछि नापी सुरु भएको बताए । नापी नभएसम्म अन्य काम अघि बढ्न नसक्ने भन्दै वडाध्यक्षसहित जनप्रतिनिधिले नापी सुरु गर्न आयोगको ध्यानाकर्षण गराउँदै आएका थिए ।

नापी सुरु गर्ने क्रममा अध्यक्ष उप्रेतीसहित विज्ञ केदारप्रसाद गौतम, सदस्य कलावती पासवान, मेहिलाल चौधरी, नापी कार्यालय बाराका प्रमुख चन्दन दास, वडाध्यक्ष वाग्ले, वडा सहजीकरण समितिका पदाधिकारीलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्