प्रेस चौतारी बाराले मनायो स्थापना दिवस, विद्यालय र संचारकर्मीलाई सहयोग हस्तान्तरण


eShilalekh

२२ माघ २०८०, सोमबार २०:०४

सिमराः २६औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाराले सोमबार विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरेको छ । स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी बाराले फरक क्षमता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई आर्थिक, शैक्षिक तथा खेलकुद सामाग्री र संगठमा आवद्ध दुई संचारकर्मीलाई सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो ।

चौतारी बाराले सिमरास्थित नेपाल अपांग सेवा संघको भवनमा संचालित सुस्त श्रवण र बौद्धिक अपांगता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री र खाद्यान्नका साथै ४० हजारको चेक हस्तान्तरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको अध्ययन र हेरचाह गर्ने शिक्षकको सेवासुविधाका लागि उक्त रकम हस्तान्तरण गरिएको हो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज अच्युत पौडेलले उक्त रकम बराबरको चेक उपलब्ध गराएका हुन् । केन्द्रीय सदस्य पौडेल र मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले नेपाल अपांग सेवा संघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्लेलाई चेक हस्तान्तरण गरेका थिए ।

चेक ग्रहण गर्दै संघका अध्यक्ष वाग्लेले चौतारी बाराले शैक्षिक सामाग्री तथा आर्थिक सहयोग गरेकोमा खुशी व्यक्त गरे । चौतारी बाराले गरेको सहयोगले विद्यालयलाई केही राहत भएको बताउँदै वाग्लेले स्थानीय सरकारबाट भने अपेक्षाअनुसारको सहयोग हुन नसकेको बताए । उक्त विद्यालयमा हाल सुस्त श्रवण र बौद्धिक अपांगता भएका करिब ४० जना बालबालिका अध्ययन गरिरहेका छन् ।

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य चौधरीले संसदीय विकास कोषबाट विद्यालयलाई यसअघि पनि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमलकुमार उपाध्याय, केन्द्रीय सदस्य पौडेल, संस्थापक केन्द्रीय सदस्य गोकुल घोरसाईने, अपांग संघ बाराका अध्यक्ष वाग्ले, प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीलगायतले मन्तब्य राखेका थिए ।

अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण उपाध्यक्ष निलिसा वर्माले गरेकी थिईन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका सचिव अनिल गौरवले स्वागत मन्तब्य राखेका थिए ।

यसैगरी स्थापना दिवसकै अवसरमा प्रेस चौतारी नेपाल बाराले संगठनमा आवद्ध दुई संचारकर्मीलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । सिमरास्थित संचार हब प्रालिको सभाहलमा आयोजित कार्यक्रममा चौतारी बाराले आफ्नो अक्षयकोषबाट संचारकर्मी रञ्जना खतिवडालाई १५ हजार र जिउतप्रसाद यादवलाई १० हजार आर्थिक सहयोग उपलब्ध गराएको हो ।

खतिवडाको केही समयअघि मेरुदण्डमा पलाएको ट्युमर र यादवको टाउकोको शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रियापछि स्वास्थ्यलाभ गरेका दुबैलाई स्थापना दिवसको अवसरमा राहतस्वरुप सहयोग उपलब्ध गराइएको थियो ।

चौतारी बाराले एक वर्षअघि २५औं स्थापना दिवसको अवसरमा अक्षयकोषको स्थापना गरेको थियो । चौतारीका केन्द्रीय सचिव कमलकुमार उपाध्यायले २१ हजार र केन्द्रीय सदस्य अच्युत पौडेलले पाँच हजार रकम कोषका लागि उपलब्ध गराएका थिए । सोही रकमबाट सहयोग गरिएको हो ।

मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले उक्त रकम संचारकर्मी खतिवडा र यादवलाई हस्तान्तरण गरेका थिए । चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रमको सहजीकरण सहसचिव इन्दिप कोईरालाले गरेका थिए । कार्यक्रममा प्रेस चौतारी नेपाल बाराकी कार्यसमिति सदस्य तुलसा घिमिरेले स्वागत मन्तब्य राखेकी थिईन् ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय पार्षद् पुष्पराज खतिवडा, सचिव जिउतप्रसाद यादव, सदस्य प्रलाद तिमिल्सिना, अग्रज पत्रकार विदुर खड्का, मनोजकुमार साह, दीपलाल पटेल, नेकपा एमाले वडा नं. २ का अध्यक्ष रवीन्द्र खकुरेललगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्