कलैया अस्पतालमा डायलाईसिस सेवा सुरु, मुख्यमन्त्रीले गरे एकैपटक तीन सेवाको उद्घाटन


eShilalekh

२ फाल्गुन २०८०, बुधबार २१:०४

सिमराः प्रादेशिक अस्पताल कलैयामा बुधवारदेखि डायलाईसिस उपचार सेवा सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले डायलाईसिस सेवाको शुभारम्भ गरेका हुन् ।

मुख्यमन्त्रीले उद्घाटन गरेसंगै अब डायलाईसिसको उपचार आवश्यक पर्ने बिरामीले कलैया अस्पतालबाट सेवा लिन सक्नेछन् । डायलाईसिससंगै मुख्यमन्त्रीले ईन्डोस्कोपी कक्ष र नवजात शिशु विशेष हेरचाह कक्षको समेत उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अजयकुमार गुप्ताले उपचार कक्षका विषयमा मुख्यमन्त्रीलाई जानकारी गराएका थिए । डा. यादवका अनुसार दैनिक १५ जना डायलाईसिस सेवा दिन सकिने गरी सेवा प्रारम्भ भएको छ ।

कलैया अस्पताललाई स्तरोन्नति गर्दै उपचार सेवा प्रभावकारी बनाउने क्रममा आफूहरु लागिरहेको बताउँदै डा. यादवले सिटी स्क्यान र ईको मेसिनको सेवा थप गर्न आवश्यक रहेको बताए । गृह जिल्लामा रहेको अस्पताललाई सेवा प्रारम्भ गर्ने क्रममा मुख्यमन्त्रीले सहज र प्रभावकारी स्वास्थ्य सेवाका लागि आफूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

उद्घाटन कार्यक्रममा बारा ३ का पूर्वसांसद रामबाबु यादव, संविधान सभा सदस्य प्रमोद गुप्ता, पूर्व प्रदेशसभा सदस्य पारस साह, कलैया अस्पताका अध्यक्ष प्रकाश चौगाईं, डा. मनोज गुप्तालगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्