वीरगन्जमा राती १० बजेसम्मका लागि कर्फ्यु हटाईयो, जनजीवन सामान्य बन्दै


eShilalekh

९ फाल्गुन २०८०, बुधबार १४:१०

सिमराः जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जका केही क्षेत्रमा लगाएको कर्फ्यु ११ घण्टाका लागि हटाएको छ । जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रशासनले बुधबार बिहान ११ बजेदेखि राती १० बजेसम्मका लागि कर्फ्यु हटाएको हो ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा फाल्गुन ३ गते सरस्वतीको मूर्ति सेलाउने क्रममा दुई धार्मिक समुदायबीच भएको झडपको बिषयलाई लिएर वीरगन्जमा समेत विवाद उत्पन्न हुन थालेपछि स्थानीय प्रशासनले सोमबार साँझ ५ बजेदेखि कर्फ्यु लगाएको थियो । सामाजिक सद्भाव बिथोल्ने गरी दुई पक्षबीचको झडप नियन्त्रण गर्न र स्थिती साम्य बनाउन प्रशासनले कर्फ्यु लगाएको थियो ।

प्रशासनले यसअघि मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म चार घण्टाका लागि कर्फ्यु खुकुलो पारेको थियो । विवाद साम्य हुँदै गएपछि प्रशासनले कर्फ्यु खुकुलो पार्दै गएको हो ।

जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको सर्वपक्षीय बैठकले समेत वीरगन्जको स्थिती बिग्रन नदिने गरी सामूहिक प्रयास गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्