गुडिरहेको मोटरसाइकलमा बाघको आक्रमण, दुई घाइते


eShilalekh

९ फाल्गुन २०८०, बुधबार २०:१६

सिमराः बाराको पथलैया–निजगढ सडकखण्ड अन्तर्गत पिलुवा नजिकको जंगलमा बुधबार दिउँसो बाघको आक्रमणमा परी मोटरसाइकल यात्रु घाइते भएका छन् । पर्सा राष्ट्रिय निकुञ्जको जंगलबाट निस्केको बाघले गुडिरहेको मोटरसाइकलका यात्रुलाई आक्रमण गर्दा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा रौतहट बौधीमाई नगरपालिका ३ का राजु साह बानियाँ र कृष्ण साह बानियाँ रहेका छन् । उनिहरुको निजगढस्थित सामुदायिक अस्पतालमा उपचार गरिएको छ । दुवैको अवस्था सामान्य छ ।

भरतपुरबाट ना३६प ५०११ नम्बरको मोटरसाइकलबाट रौतहट फर्कने क्रममा जीतपुरसिमरा १६ स्थित पिलुवा नजिकको जंगलमा बाघले आक्रमण गरेको बारा प्रहरीले जनाएको छ । घटनापछि उपचारका लागि अस्पताल पुगेका राजुले जंगलबाट निस्केको बाघले आफूलाई आक्रमण गरेको बताए । राजु मोटरसाइकलको पछाडी सवार थिए ।

बाघले हातमा टोकेर तान्न थालेपछि मात्रै आफूले थाहा पाएको राजुको भनाई छ । बाघले हातमा टोकेर तान्न थालेपछि मोटरसाइकल अनियन्त्रित भएर लडेको थियो । मोटरसाइकल लड्दा चालक कृष्ण घाइते भएका हुन् ।

मोटरसाइकल लड्नसाथ बाघले केही पर भागेको र पछाडी आउँदै गरेको यात्रुबाहक बसले हर्न बजाएपछि बाघ जंगल पसेको राजुले जानकारी दिए । दुबैलाई यात्रुबाहक बसका यात्रुले उद्धार गरेका थिए । राजुको शरिरको विभिन्न भागमा चोट लागेपछि स्थिती खतरामुक्त रहेको अस्पतालका चिकित्सकले बताएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र विस्तार भएसंगै पथलैया–निजगढ सडकखण्डमा बाघ र हात्तीको चहलपहल बढ्दो अवस्थामा छ । उक्त सडकखण्डको उत्तरतर्फ निकुञ्ज र दक्षिणतर्फ राष्ट्रिय वन क्षेत्र पर्दछ । बारा प्रहरीले उक्त क्षेत्रमा यात्रा गर्दा सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्