वीरगन्जमा लगाइएको कर्फ्यू पूर्णरुपमा हटाईयो, स्थिती सामान्य


eShilalekh

९ फाल्गुन २०८०, बुधबार २१:३१

सिमराः जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जका केही क्षेत्रमा लगाएको कर्फ्यू बुधबार राती १० बजेदेखि लागू हुने गरी हटाएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सूचना जारी गर्दै कर्फ्यू आदेश पूर्णरुपमा हटाइएको जनाएका छन् ।

प्रशासनले यसअघि बिहान ११ बजेदेखि राती १० बजेसम्मका लागि कर्फ्यू हटाउने निर्णय गरेको थियो । तर वीरगन्जको स्थिती सामान्य बन्दै गएपछि प्रशासनले राती १० बजेदेखि लागू हुने गरी कर्फ्यू हटाएको हो ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा फाल्गुन ३ गते सरस्वतीको मूर्ति सेलाउने क्रममा दुई धार्मिक समुदायबीच भएको झडपको बिषयलाई लिएर वीरगन्जमा समेत विवाद उत्पन्न हुन थालेपछि स्थानीय प्रशासनले सोमबार साँझ ५ बजेदेखि कर्फ्यू लगाएको थियो । सामाजिक सद्भाव बिथोल्ने गरी दुई पक्षबीचको झडप नियन्त्रण गर्न र स्थिती साम्य बनाउन प्रशासनले कर्फ्यू लगाएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको सर्वपक्षीय बैठकले समेत वीरगन्जको स्थिती बिग्रन नदिने गरी सामूहिक प्रयास गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्