६० वर्षदेखि भोगचलन गर्दै आएको जग्गा अर्कैको नाममा दर्ता, २३ परिवारको बिचल्ली


eShilalekh

१० फाल्गुन २०८०, बिहीबार २१:३१

कलैयाः ६० वर्षदेखि भोगचलन गर्दै आएको बस्तीको जग्गा अर्कैको नाममा दर्ता कायम भएपछि २३ परिवारको बिचल्ली भएको छ । महागढीमाई नगरपालिका २ स्थित बरैया टोलमा बसोबास गर्ने एक बस्तीकै जग्गा अर्काको नाममा दर्ता भएको पाइएको हो ।

आफूहरु बस्दै आएको जग्गा अर्कैको नाममा दर्ता कायम भएको थाहा पाएपछि स्थानीयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जग्गा फिर्ताको माग गरेका छन् । स्थानीयका अनुसार साविक बरियारपुर गाविस कित्ता नं. ४१३ को सात कठ्ठा एक धुर जमिनमा उनिहरु बस्दै आएका थिए ।

आफूहरु बस्दै आएको उक्त जग्गा अहिले मंगल राउत बरैको नाममा दर्ता भएको स्थानीय रामेश्वर महतोले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । महतोका अनुसार उक्त जग्गा स्थानीय बीरभद्र बिक्रम शाहले स्थानीयलाई बसोबास गर्न दिएका थिए । शाहको अहिले निधन भईसकेको छ ।

शाहको मुन्सीको रुपमा कार्यरत बरैले उक्त जग्गा २०४२ सालमा आफ्नो नाममा दर्ता गराएका थिए । बरैले उक्त जग्गा आफ्नै नाममा दर्ता गरेको थाहा पाएपछि शाह परिवारले स्थानीयको नाममा गरिदिन निर्देशन दिएको र बरैले पनि फिर्ता गरिदिने बताउँदै आएका थिए ।

तर शाहको निधनपछि उक्त जग्गा स्थानीयको नाममा आउन सकेन । बरैले उक्त जग्गा आफूले खरिद गरेको बताउन थालेका छन् । स्थानियले भनेआफूहरु ६ दशक भन्दा बढी समयदेखि भोगचलन गर्दै आएको जग्गा फिर्ता गरिदिन प्रशासनसंग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्