मुआब्जा रकम माग गर्दै तामागढीमा हुलाकी सडक प्रभावित स्थानीयको रिले अनशन जारी


eShilalekh

११ फाल्गुन २०८०, शुक्रबार १७:४७

सिमराः योजना सम्पन्न भएको चार वर्ष पुग्न लागिसक्दा पनि मुआब्जावापत्को रकम नपाएपछि तामागढी–सिम्रौनगढ हुलाकी सडक योजना प्रभावित स्थानीयको रिले अनशन शुक्रबार दोस्रो दिन पनि जारी छ । सरकारले निर्धारण गरेको मुआब्जावापतको रकम पटकपटक माग गर्दा समेत नपाएको भन्दै उनिहरुले बिहीबार रातीदेखि अनशन सुरु गरेका हुन् ।

चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका स्थानीयले हुलाकी सडकको प्रस्थान विन्दु तामागढीमा प्रदर्शन गर्दै बिहीबार साँझदेखि अनशन सुरु गरेका थिए । स्थानीयको प्रदर्शनपछि पूर्वपश्चिम राजमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

मुआब्जा रकम माग गर्दै स्थानीयले मुख्य राजमार्ग बन्द गर्न सक्ने भन्दै प्रहरी परिचालन गरिएको हो । प्रहरीले स्थानीयलाई राजमार्ग प्रवेश गर्न दिएको छैन् । राजमार्ग बन्द गर्न पुगेका उनिहरुलाई रोक लगाउन खोज्दा प्रहरीसंग घम्साघम्सी समेत भएको थियो ।

तमागढी–सिम्रौनगढ सडक निर्माण गर्ने क्रममा सरकारले कोल्हबी नगरपालिका, सिम्रौनगढ नगरपालिका, बारागढी गाउँपालिका र आदर्शकोतवाल गाउँपालिकाका स्थानीयको करिब ७० बिगाह जग्गा अधिग्रहण गरेको थियो । स्थानीयको जग्गा अधिग्रहण गरेर सडक निर्माण गरेवापत् सरकारले झण्डै तीन अर्ब मुआब्जा रकम दिनुपर्नेछ । तर योजना सम्पन्न भएको चार वर्ष पुग्न लागिसक्दा पनि सडकका लागि जग्गा छाडेका स्थानीयले मुआब्जावापतको रकम पाउन सकेका छैनन् ।

हुलाकी मार्ग आयोजना अन्तर्गत निर्माण भएको उक्त सडक करिब ४० किलोमिटर लम्बाई र सात मिटर चौडाईको छ । उक्त योजना निर्माण गर्न सडकको दायाँबायाँ दुबैतर्फबाट १५–१५ मिटर अधिग्रहण गरिएको थियो । अधिग्रहण गर्ने क्रममा नम्बरी जग्गामा बसोबास गर्दै आएका स्थानीयलाई प्रति कठ्ठा २० लाखका दरले मुआब्जा दिने निर्णय सरकारले गरेको थियो ।

तस्वीरः प्रलाद तिमिल्सिना

प्रतिक्रिया दिनुहोस्