जीतपुरसिमरा उपमहानगरपालिकाले माग्यो नगर प्रहरी, १३ जनाका लागि दरखास्त आव्हान


eShilalekh

१४ फाल्गुन २०८०, सोमबार १२:३४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले सोमबार नगर प्रहरीका लागि दरखास्त आवहान गरेको छ । उपमहानगरपालिकाले एक नगर प्रहरी सहायक निरीक्षक र १२ नगर प्रहरी जवान पदमा दरखास्त आव्हान गरेको हो ।

उपमहानगरपालिकाको नगर प्रहरी ऐन २०७९ को दफा (१०) बमोजिम आवहान गरिएको दरखास्त अनुसार नगर प्रहरी सहायक निरीक्षक पदका लागि न्युनतम शैक्षिक योग्यता प्रविणता वा सो सरह राखिएको छ । सहायक स्तर चौथो तह तोकिएको सहायक निरीक्षक पदमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेका वा सुरक्षा निकायमा कार्यरत रहेर अवकाश प्राप्त ४० वर्षसम्मका नागरिकले आवेदन दिन सक्नेछन् ।

यसैगरी समावेशी प्रावधानसहित जवान पदमा १२ जना माग गरिएको छ । जसअनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले खुल्लामा सात, महिलामा दुई, आदिवासी तथा जनजातीमा एक, मधेसीमा एक र दलितमा एक गरी १२ पदका लागि आवेदन दिन सक्नेछन् ।

जवान पदमा १८ वर्ष पूरा भई २३ वर्ष ननाघेका वा सुरक्षा निकायमा कार्यरत रहेर अवकाश प्राप्त ३७ वर्षसम्मका नागरिकले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । श्रेणी नतोकिएको उक्त पदका लागि आवेदन दिन न्युनतम १० कक्षा वा सो सरह उतिर्ण योग्यता हुनुपर्ने भनिएको छ ।

सूचना अनुसार चैत्र ४ गतेसम्म इच्छुक नागरिकले आवेदन दिने सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्