मधेसलाई माया गर्छु भन्ने मुखले मात्रै हो, व्यवहारमा देखिएनः मुख्यमन्त्री यादव


eShilalekh

१८ फाल्गुन २०८०, शुक्रबार २०:३३

सिमराः मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारले मधेसलाई हेर्ने दृष्टिकोण विभेदपूर्ण रहेको आरोप लगाएका छन् । संघीय सरकारमा जसले नेतृत्व गरेपनि मधेस सरकारलाई विभेद गर्ने गरेको आरोप यादवले लगाए ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रथम जीतपुरसिमरा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेसलाई माया गर्छु भनेर मुखले ठिक्क पार्ने संघीय सरकारको नेतृत्वले गर्ने व्यवहार भने फरक हुने गरेको बताए । बजेट, अनुदान, नीति, जिम्मेवारीका हिसाबले मधेसप्रति विभेद भएको भन्दै यादवले प्रदेश सरकारलाई पङ्गु बनाउने काम भईरहेको आरोप लगाएका छन् ।

‘मधेसलाई माया गर्छु भनेर मुखले ठिक्क पार्ने मात्रै हो, व्यवहार विभेदपूर्ण छ’ यादवले भने ‘प्रदेश सरकारलाई पङ्गु बनाउने काम मात्रै भईरहेको छ ।’ संघीयतालाई प्रभावकारी बनाउने भए प्रदेश सरकारलाई सशक्त बनाउन जरुरी रहेको यादवको भनाई थियो । प्रदेश सरकारको भन्दा बढी बजेट महानगरपालिकाको हुने गरेको भन्दै यादवले प्रदेश सरकार सशक्त बनाउनेमा ध्यान दिन आग्रह गरेका थिए ।

मुख्यमन्त्री यादवले भारतीय पर्यटक भित्रिने वातावरण बनाउन समेत संघीय सरकारसंग आग्रह गरेका छन् । मधेसका जिल्लाको नाकाबाट भित्रिने भारतीय पर्यटकले अनावश्यक झन्झटको सामना गर्नु परिरहेको भन्दै यादवले पर्यटनमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

भारतबाट भित्रिने पर्यटक चढेका सवारी साधनलाई राजमार्गमा प्रहरीले अनावश्यक जाँच गर्ने, भन्सारबाट भित्रिने क्रममा २५ हजार रुपैयाभन्दा बढी बोकेर आउन नपाउने गरी रोक लगाउनेलगायतका समस्या देखिएको भन्दै मुख्यमन्त्री यादवले यस्तो वातावरणले पर्यटनको विकास नहुने तर्क गरे । भारतीय पर्यटकको सहजताका लागि मधेसका नाकाबाट भित्रिने पर्यटकको भन्सार दस्तुर तिर्न मधेस सरकार तयार रहेको बताउँदै यादवले एक साताका लागी आउने पर्यटकका लागि सवारी साधनमा ‘पर्यटक स्टिकर’ लगाउन र भन्सारमा नगद सटही काउन्टर संचालन गर्न संघीय सरकारलाई सुझाव दिए । भारतीय पर्यटक भित्रिने वातावरण सहज भए मधेस प्रदेशको मुहार ६ महिनामै फेरिने यादवको दावी थियो ।

कार्यक्रममा संघीय सांसद एवम् पूर्वमन्त्री किसान श्रेष्ठ, ज्वालाकुमारी साह, मधेस प्रदेशकी पर्यटनमन्त्री सुनिताकुमारी यादव, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, संविधानसभाका सदस्य शोभाकर पराजुली, जयराम दहाल, मधु शाही, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेलगायतले सम्बोधन गरेका थिए ।

‘कृषी, पर्यटन, खेल, उद्योग र व्यापार, जीतपुरसिमरा, बारा मधेस समृद्धिको मुख्य आधार’ को नारासहित आयोजना गरिएको महोत्सव फाल्गुन २९ गतेसम्म आयोजना हुनेछ । महोत्सवमा व्यापारिक प्रतिष्ठान, नेपाली सेना, सशस्त्र प्रहरी, सरकारी कार्यालय तथा विभिन्न संघसंस्थाका सेवा, कृषी तथा पर्यटनसम्बन्धी स्टल रहनेछन् । महोत्सवमा धुर्मुस सुन्तली, मिस्टर डी, एलिन चौहान, रजना रिमाल, बद्री पंगेनी, निशान भट्टराई, दुर्गेश थापा, अनु चौधरी, ज्योती मगर, मञ्जु पौडेल, राजा राजेन्द्र, सुनिल पण्डित, प्रमोद जख्मी, प्रीति पासवानलगायतका कलाकारको सांगीतिक प्रस्तुति रहनेछ ।

प्रधानमन्त्रीले नभ्याएपछि मुख्यमन्त्रीबाट उद्घाटन

जीतपुरसिमरा महोत्सवको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने कार्यक्रम तय भएको थियो । आयोजक जीतपुरसिमरा उद्योग वाणिज्य संघको निमन्त्रणालाई स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले उद्घाटन आउने प्रतिवद्धता समेत दिएका थिए ।

तर कार्यव्यस्तताका कारण प्रधानमन्त्री प्रचण्डको सिमरा आउने कार्यक्रम स्थगित भएको हो । भरतपुर भ्रमण वर्षको उद्घाटन र संसद बैठकका कारण प्रधानमन्त्री प्रचण्ड आउन नभ्याउने भएपछि आयोजकको निमन्त्रणा स्वीकार गरेर मुख्यमन्त्री यादव आएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कार्यव्यस्तताका कारण आफू नभ्याउने भएको र उक्त कार्यक्रममा पुगिदिन आग्रह आफूलाई समेत गरेको मुख्यमन्त्री यादवको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्